• Menu

वर्ल्ड गभर्मेन्ट्स समिट : जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल प्रफिट

२०८० फागुन २, बुधबार १५:२८

वर्ल्ड गभर्मेन्ट्स समिट : जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादनलगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजित वर्ल्ड गभर्मेन्ट्स समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर सम्भावना रहेको बताए ।

उनले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको जानकारी गराए ।

‘नेपाल सरकारले अप्रिल २८ र २९ मा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलन २०२४ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने ।

साथै, सरकारले विभिन्न सम्भावित साझेदार मुलुकहरुसँग द्विपक्षीय सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको पनि उनले जानकारी गराए । ‘यसले दुई देशबीच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ,’ अध्यक्ष ढकालले भने ।

उनले त्यसका लागि लगानी सम्मेलन २०२४ मा सहभागी हुन र फाइदा लिन उनले आग्रह गरे । सेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको  सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनीतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता छ ।

शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरेका थिए ।