काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएकी छन् । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को बिहीबार उद्घाटन गर्दै उनले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताइन् ।
सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरुप लिने विश्वास व्यक्त गरिन् । ‘सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख कार्यभारका रूपमा अघि बढाएको छ,’ उनले भनिन्, ‘१६औँ आवधिक योजनामा सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको ।’
सूचना प्रविधिसम्बन्धी रुपान्तरणकारी आयोजना सञ्चालन गरी मुलुकको अर्थतन्त्र सबल बनाउँदै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ । मन्त्री शर्माले अब श्रमिक नभई सेवा निर्यात गर्ने मुलुकका रूपमा विकास गरिनुपर्ने बताइन् । ‘सूचना प्रविधिको विकासमार्फत सेवा विकास गर्न सकिन्छ, यसबाट रोजगारी सिर्जना हुन्छ,’ उनले भनिन्, ‘बढ्दो विदेश पलायनलाई पनि रोक्न सकिन्छ ।’
मन्त्री शर्माले क्यान महासंघलाई आफ्नो सेवा क्षेत्रको दायरा विस्तार गर्न आग्रह गरिन् । सरकारी र निजी क्षेत्रको सहकार्यबाटै सूचना प्रविधि क्षेत्रको विकास गर्न सकिने उनको बुझाइ छ । ‘अबको लगानी सूचना प्रविधि क्षेत्रमा हुनुपर्छ, सूचना प्रविधिको क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिन्छ,’ मन्त्री शर्माले भनिन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नेपालको हरेक क्षेत्र लगानीका लागि उपयुक्त भए पनि नीतिगत स्थिरताको अभावमा लगानीकर्ता आकर्षित हुन नसकेको उल्लेख गर्दै त्यसका लागि नीतिगत र कानुनी स्थायित्व अपरिहार्य रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको विकासबिना मुलुकको समृद्धि सम्भव नभएकाले सूचना प्रविधिसम्बन्धी सेवा प्रभावकारी बनाएर नेपाललाई ‘आइटी हब’ बनाइनुपर्ने बताए ।
क्यान महासंघका अध्यक्ष रञ्जीतकुमार पोदारले सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरेर रोजगारी सिर्जनाका साथै विदेशी मुद्रा भित्र्याउन थालेको यस क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । मेलामा १५० भन्दा बढी स्टल छन् । मेलाको झन्डै तीन लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने आयोजकको अनुमान छ ।