काठमाडौं । माईपे मनी ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा र युरोपेली देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने योजना बनाएको छ ।
यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार सञ्चालन गर्ने कम्पनीले जनाएको छ । ‘हामीले विदेशबाट डिजिटल माध्यमबाट नै नेपालको कुनै पनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौं,’ माईपेका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भने, ‘युवालाई लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिट्यान्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो ।’
परम्परागत रुपमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई नयाँ आयाम दिँदै न्यूनतम लागतमा रेमिट्यान्स पठाएर ग्राहकलाई अतिरिक्त लाभ महसुस गराउने कम्पनीको योजना रहेको भट्टराईले बताए ।
साथै माईपे मनी ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजारभन्दा बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ जारी भएपश्चात पहिलो कम्पनीका रुपमा माईपेले लाइसन्स प्राप्त गरेको हो । नयाँ विनियमावलीमा राष्ट्र बैंकले रेमिट्यान्सको लाइसन्सका लागि २ कारोड चुक्ता पुँजीलाई बढाएर १० करोड पुर्याएको छ ।
माईपे मनी ट्रान्सफरले लाइसन्स पाएसँगै रेमिट्यास कारोबारका लागि इजाजत पाउने कम्पनीको संख्या ३७ पुगेको छ । तर, हाल २१ कम्पनीमात्रै सञ्चालनमा छन् ।