• Menu

सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब पुग्यो, दुई महिनामै थपियो साढे ९४ अर्ब

नेपाल प्रफिट

२०८१ असोज ६, आइतबार १६:५३

सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब पुग्यो, दुई महिनामै थपियो साढे ९४ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ । हालसम्मको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.३२ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्ममा बढेर १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जीडीपीका आधारमा आन्तरिक ऋणको अनुपात २१.६६ प्रतिशत हो । यो दुई महिनामा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्ब रुपैयाँबराबर ऋण तिरेको छ ।

त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ । चालु आवको सुरुमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।

दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा १४ अर्ब पाँच करोड रुपैयाँ खर्च गरेको छ भने चार अर्ब ६७ करोड बाह्य ऋण थपेको छ । जीडीपीको तुलनामा बाह्य ऋण २२.६६ प्रतिशत हो ।

चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकोमा भदौ मसान्तसम्ममा एक खर्ब चार अर्ब पाँच करोड रुपैयाँ उठाएको कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब बजेट छुट्याएको छ । भदौ मसान्तसम्ममा ४७ अर्ब ७१ करोड ५१ लाखबराबर साँवा ब्याज भुक्तानी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्