• Menu

संघीयता, धर्म निरपेक्षता र समानुपातिक प्रणाली संविधानबाट हटाउने कल्पना पनि गर्न सकिँदैन : सञ्चारमन्त्री

नेपाल प्रफिट

२०८१ असोज ५, शनिबार १७:४६

संघीयता, धर्म निरपेक्षता र समानुपातिक प्रणाली संविधानबाट हटाउने कल्पना पनि गर्न सकिँदैन : सञ्चारमन्त्री

लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक संकटबाट जोगाउन नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् ।

बेँसीसहर नगरपालिका– ७ मा आज एमाले लमजुङको तेस्रो बैठकमा उनले अघिल्लो सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले  नेतृत्व लिएको स्पष्ट पारे । ‘वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ,’ उनले भने ।

सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे । ‘संविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था छ,’ उनले भने ।

आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मूलभूत विशेषतामा परिवर्तन नहुने उनले स्पष्ट पारे ।

‘खासगरी संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन,’ उनले भने । उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको र पालिकाहरु घटाउनुपर्ने धारणा राखे ।

एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घलेले वर्तमान सरकारले मुलुकको विकासका लागि काम गरिरहेको बताए ।