• Menu

चुनाव जित्न करोडौं खर्च गर्नुपर्ने अवस्थाले भ्रष्टाचार झाँगिएको हो, निर्वाचन प्रणालीको विकल्प खोजौं : प्रचण्ड

नेपाल प्रफिट

२०८१ असोज ५, शनिबार १७:१९

चुनाव जित्न करोडौं खर्च गर्नुपर्ने अवस्थाले भ्रष्टाचार झाँगिएको हो, निर्वाचन प्रणालीको विकल्प खोजौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार काठमाडौंमा गरेको राजनीतिक वैचारिक प्रशिक्षणमा अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेन्डामा गर्नुपर्ने बताए ।

अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पुँजीपति,  नोकरशाह र माफियाहरुलाई नपचेको उनले टिप्पणी गरे । अध्यक्ष प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको आरोप लगाए ।

‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अंगको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिबिना गर्न खोजिने संविधान संशोधनको प्रयास बेइमानी र जालझेलबाहेक अरु हुन सक्दैन,’ उनले भने, ‘हाम्रो सहमतिबिना संविधान संशोधन गर्ने उनीहरुलाई राजनीतिक र नैतिक दुबै अधिकार छैन ।’

तर, इमानदारीसाथ संविधान संशोधनको एजेन्डा उठाउन खोजे आफूहरु त्यसका लागि तयार हुने उनले स्पष्ट पवारे । ‘अग्रगमनमा जानका लागि हो भने अहिले संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई छ,’ अध्यक्ष प्रचण्डले भने ।

संविधान निर्माण गर्दा प्रस्ट रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा राखे पनि कांग्रेस र एमाले सहमत नभएको उनले स्मरण गरे । ‘हामी कुनै पनि दिन यो मुद्दा लिएर आन्दोलनमा जाने छौं भनेर नोट डिसेन्ट लेखेका छौं । अब हामी यो एजेन्डालाई लिएर अगाडि बढ्छौं,’ उनले भने ।

प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक रहेको उनले बताए । ‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो,’ उनले भने, ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा १० करोड र संघमा ५० करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने काममा बढी लाग्न थालेको देखियो । त्यसैले भ्रष्टाचारको मुहान नै सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ ।’

करोडौं खर्च गरेर सांसद हुने र जितेपछि तँछाडमछाड गरेर मन्त्री बन्ने अवस्थाको अन्त्य गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रीमण्डल बनाउने र सांसदहरु कानुन निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्रै मुलुकमा भ्रष्टाचार रोक्न सकिने उनको भनाइ छ ।

आफूहरुको मुख्य मुद्दा भ्रष्टाचार नियन्त्रण नै भएको उनले उल्लेख गरे । उनले त्यही पहल गर्दा सरकार छाड्नुपरेको बताए । आफूहरु खबरदारी गर्दै सरकारबाट निस्केको र सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध एकपछि अर्को अभियान चलाएकाले नै अहिले देशव्यापी रुपमा जनताले माओवादी केन्द्रलाई भरोसा गर्न थालेको उनले स्पष्ट पारे ।

सामान्यतः सरकारबाट बाहिर आउँदा जनतामा निराशा देखिने गरे पनि यसपटक भने जनतामा उत्साह देखिएको र देशव्यापी जनलहर सुरु भएको उनको दाबी छ । ‘भ्रष्टाचारीलाई जोगाउनका लागि नै हाम्रो नेतृत्वको सरकार ढालिएको हो भन्ने जनताले स्पष्ट बुझिसकेका छन् । उनीहरुको सरकार कसले कसरी बनाइदियो भन्ने देखि नै हाल्यो, अहिले आधा दर्जन बढी त भ्रष्टाचारकै मुद्दा चलेका व्यक्तिलाई मन्त्री बनाइएको छ,’ उनले भने ।

माओवादीका लागि फेरि अवसर आएको र आफूले फेरि नयाँ आन्दोलनको संकल्प गरिसकेको उनले बताए । ‘अहिले देशभरि जनताले हामीलाई माया गरेको भ्रष्टाचारविरुद्ध अभियानको अगुवाइ गरेकाले हो,’ उनले भने, ‘मैले विद्रोहको झन्डा उठाई नै सकेँ । यो आन्दोलन मजदुर, किसान, युवा, महिला, आदिवासी जनजाति, दलित, मधेसीलगायत सबै जनसमुदायको साथ सहयोगमा अघि बढ्नेछ ।’

आफूले देशव्यापी यात्रासँगै हरेक ठाउँमा ‘मर्निङ वाक’ अभियान चलाएको उनले उल्लेख गरे । अध्यक्ष प्रचण्डले यो मर्निङ वाक मात्र नभई हामी आयौं भनेर जनतालाई गरेको अपिल पनि भएको बताए ।

पार्टी एउटा संकल्पका साथ वर्गतिर फर्कंदै गरेको जानकारी उनले दिए । ‘युद्ध र शान्तिका अनुभवबाट खारिएका हजारौं कार्यकर्ताको जमात भएको, लाखौं श्रमिक वर्ग संगठित भएको पार्टी हाम्रै हो,’ उनले भने, ‘हामीले आफूलाई रुपान्तरण गरेर जाने हो भने हामी क्रान्तिका अविभारा पूरा गर्न सक्ने हैसियतमा पुग्दैछौं ।’

मजदुरका तर्फबाट पार्टी नेतृत्वमा १० प्रतिशत प्रतिनिधित्व, श्रमिकको न्यूनतम ज्याला वृद्धि, श्रम ऐन संशोधन, प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रम, महँगी भत्तालगायतका मजदुर संगठनका माग जाजय भएको उनले बताए ।

पार्टीबाट पूरा गर्न सकिने जति पार्टीबाट र सरकारबाट गर्नुपर्ने कामका लागि संघर्ष गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको अन्तर्य समाजवादी क्रान्तिको तयारी भएको उनले उल्लेख गरे । उनले समाजवादी क्रान्तिले मात्रै मजदुर, किसानलगायत श्रमिक वर्गको हितको रक्षा गर्ने उनको विश्वास छ ।