ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ४५औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारीले आर्थिक मन्दीका कारण व्यवसायीलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थालिने उल्लेख गरे ।
‘सरकारले लगानीका क्षेत्र पनि परिभाषित गरेको छ । सूचना प्रविधि, ऊर्जा, कृषि र उद्योगलगायत क्षेत्र प्राथमिकतामा छन् । लगानी सम्मेलन गरी नीतिगत सुधार गर्दै गएका छोँ । अझै लगानीको पर्याप्त वातावरण बनेको छैन । यो वातावरण बनाउने दायित्व सरकार,सरोकार भएका निकायका साथै निजी क्षेत्रको पनि हो,’ भण्डारीले भने ।
निजी क्षेत्र उत्साहित नहुनुको कारण पत्ता लगाई समाधान खोज्न समन्वय, सहकार्य र छलफलका माध्यमबाट सम्भव हुने उनले धारणा राखे ।
हरेक व्यक्तिले सरकार, राज्य मेरो हो भन्ने वातावरण तयार नभएसम्म आर्थिक समृद्धि नहुने बताउँदै भण्डारीले सरकारका नीति तथा कार्यक्रममा कमजोरी भए सच्याउन सकिने भएकाले छलफलमा आउन उद्योगी व्यवसायीलाई आग्रह गरे ।
‘सरकारको नेतृत्व गर्ने हरेकले जनताका पक्षमा, आर्थिक समृद्धि प्राप्तिका लागि काम गर्नुपर्छ । मुलुकको विकास र समृद्धिका पक्षमा सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । सरकारबाट जनताले आशा राख्न छाड्नुहुँदैन । नीतिगत कमजोरी भए त्यसमा बहस गरौँ नीति, नियममा सुधार गरी कार्यक्रम सच्याउँछौँ । सरकारलाई बलियो बनाउँदै जनताले अपनत्व महसुस गर्ने बनाउँछौँ,’ उनले भने ।
युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याइएको बताउँदै मन्त्री भण्डारीले युवापुस्तामा विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद् नभएको धारणा राख्नुभयो ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर देशको विकास सम्भव भएको उल्लेख गर्दै जनतामा देखिएका निराशाको अन्त्य गर्न तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए । जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्नेमा उनले जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आममानिसमा देखिएका निराशाको अवस्था चिर्दै आर्थिक समृद्धिका लागि महासंघले सरकारसँग सहकार्य गर्ने बताए ।
‘कोभिड महामारी र रुस-युक्रेन युद्धपछि विश्वका अन्य देशजस्तै नेपालको अर्थतन्त्र चलायमान हुन नसक्दा नागरिकमा त्रासको वातावरण बनेको थियो । पछिल्लो समय आर्थिक, पर्यटकीय गतिविधि चलायमान बन्दै जाँदा जनतामा आशा जागेको छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन्,’ उनले भने ।
अध्यक्ष ढकालले महासंघले अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिको अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको सुरुआत गरेर सरकारलाई दबाब दिँदै आएको उल्लेख गरे ।
पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आउन नसक्नुमा नेपालका कतिपय कानुन बाधक देखिएका भन्दै उनले ती कानुन संशोधन गर्न महासंघले पहल गरिरहेको जिकिर गरे ।
‘लगानीको उचित वातावरण नबन्नुमा कतिपय कानुन बाधक देखिएपछि तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रोसमेत सहभागितामा एक कार्यदल बनेसँगै ८ वटा कानुन संशोधन भएका छन् । योसँगै दातासँग गरिएको प्रतिबद्धता अनुसारको लगानी भित्र्याउन सहजीकरण हुनेछ,’ ढकालले भने । उनले आर्थिक मुद्दा र मुलुकको अर्थतन्त्र सुधारका विषयमा सबै राजनीतिक दल एकमत भएकाले लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको धारणा राखे ।
साधरणसभाको उद्घाटन समारोहमा महांघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यलगायत वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।