काठमाडौं । धेरै पहिले जनताले चाहेको व्यवस्था फेरियो । त्यसपछि पटक-पटक सत्ता फेरिए । वर्षमै तीन-चार वटा सरकार फेरिए । तर कहिल्यै जनताको अवस्था फेरिएन ।
र त, आज देशै रित्तिजानेजसरी बिदेसिनेको लर्को लागेको छ । युवामात्रै होइन, अधबैंसेलाई पनि देशको अवस्थादेखि झर्को लाग्न थालेको छ । हो यही भावमा सञ्चारकर्मी तथा गीतकार शिवराज योगीले रचना गरेको ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक भएको छ ।
कोरोना कालमा संगीतकार भीम बिसीसँगको सहकार्यमा ‘ऐना हेरी हेरी’ बोलको गीत रचना गरेका योगीले ‘साहिँला दाइ’ पनि बिसीसँगै सहकार्य गरेका हुन् । सैयौँ गीतमा संगीत दिइसकेका बिसीले ‘साहिँला दाइ’को संगीत पनि शब्दको भावमाथि न्याय हुने गरी निर्माण गरेको रचनाकार योगीले बताए ।
युद्धकालपछि राजनीतिक व्यवस्था परिवर्तन भए त देशले मुहार फेर्छ होला, स्वदेशमै धेरैथोक हुन्छ होला भन्ने आम भावनामा झनै ठेस लागेको कुरालाई रचनाकारले गीतमार्फत पोखेका छन् ।
खोर्सिँदैमा साहिँली दिदी जिन्दगी खिइगयो
व्यवस्थाले साहिँली दिदी आस मात्रै दिइगयो
पीरैपीरकै भीर…
जनतालाई आसैआस मात्र अनि राजनीतिक नेपथ्यमा भइरहने एकपछि अर्को बेइमानीले किशोरवयमै हरेक नेपाली देश छोड्न चाहने र त्यसले सामाज तथा परिवारहरुमा छाएको निराशा समेटिएको गीतमा गायक शम्भु रैका र प्रेरणा विश्वकर्माले न्यायपूर्ण आवाज दिएका छन् ।
बुढेसकालको सहारा टिकेन आँगनमा
चरीजस्तै साहिँला दाइ उडीगयो गगनमा
पीरैपीरको भीर…
गायिका प्रेरणा सुदूरपश्चिमको कञ्चनपुर गुलरिया ५ मा जन्मिएर सांगीतिक क्षेत्रमा होमिएकी नयाँ अनुहार हुन् । उनी नेपाल आइडल सिजन ५ मा सुदूरपश्चिमबाट पहिलो गोल्डेन माइक पाउन सफल प्रतिभा हुन् । नेपाल आइडलको टप १० मा पर्न सफल उनी यतिबेला काठमाडौंमा संगीत प्रशिक्षणसँगै लिङ्कन कलेजमा छात्रवृत्तिमा बीबीएस अध्ययनरत छिन् ।
शम्भु रैका दुई दशकदेखि सांगीतिक क्षेत्रमा छन् । विभिन्न परिस्थितिले सांगीतिक क्षेत्रबाट केही ओझेल परेका रैका कैलालीको धनगढीका स्थायी बासिन्दा हुन् ।
२०६२ सालमै पहिलो गीत रेकर्ड गराइसकेका रैका २०६४ को सुदूरपश्चिम आइडल गायनमा विजयी प्रतिभा हुन् । एमएसम्मको अध्ययन गरेका उनले चलचित्र र एल्बमहरुमा गरेर तीन दर्जन गीत रेकर्ड गराइसकेका छन् ।
गीतको भिडियोमा क्रिस बम र निरुता बिष्टको अभिनय छ । निरुता त्यस्ती नायिका हुन्, जसका श्रीमान लामो समयदेखि अस्पतालको शय्यामा छन् । उनी हरेक दिन श्रीमानको आवाजका लागि ईश्वर पुकारिरहेकी हुन्छिन् । हरेक पल अशक्त श्रीमानको सेवामा समर्पित भएको कुरा उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन् ।
हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको ‘साहिँला दाइ’ गीतको भिडियो निर्देशन तथा निर्माण विक्रम चौहानले गरेका हुन् । प्रकाश खड्काले खिचेको भिडियो सम्पादन मीन रावलले गरेका हुन् ।
विश्व अधिकारीको एरेन्ज, सुमन र खुमन रानाले रेकर्ड गरेको म्युजिक भिडियोको मिक्सिङ कुमार रानाले गरेका हुन् । गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।
युट्युबबाट सार्वजनिक गरिएको गीत पाँच दिनमा एक लाख १० हजार पटकभन्दा बढी हेरिएको छ ।