• Menu

गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

नेपाल प्रफिट

२०८१ असोज २, बुधबार १२:४९

गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।

२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

१९७२ सालकात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मेका नेता सिंहको निधन २०५४ सालअसोज २ मा भएको थियो ।

काठमाडौँको खानदानी परिवारमा जन्मेका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनी लगायतलाई तत्कालीन सरकारले जेल हालेको थियो । २००७ सालअघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिले गणेशमान प्रवास जानुअघि तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनमा सक्रिय भएका थिए ।

जेलबाट भागेर भारतमा पुगी नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका थिए । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रुपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रुपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन उनले सदा क्रियाशील भए ।

२०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताएका थिए । २०२५ सालमा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरे ।

२०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे । तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका ८ वटा मुद्दामा उनले विशेष अदालतबाट सफाइ पाए ।

गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रुपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो ।

जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय भएका हुन् । नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा बुधबार कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् ।