• Menu

दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व संकलन

नेपाल प्रफिट

२०८१ असोज १, मंगलबार १६:०३

दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा १ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो दुई महिनामा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

भदौसम्ममा कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड ३३ लाख र गैरकर राजस्व २१ अर्ब १९ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ । यस अवधिमा अनुदान र अन्य आम्दानी भने भएको छैन । सरकारले चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

राजस्व संकलन गत वर्षको पहिलो दुई महिनाको तुलनामा बढेको छ । गत वर्षको साउन र भदौमा लक्ष्यको ९.९२ प्रतिशत राजस्व संकलन भएकोमा चालु आवको सोही अवधिमा ११.७२ प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष राजस्व संकलन लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ थियो ।

त्यस्तै सरकारले दुई महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको छ । भदौसम्ममा ८२ अर्ब ९८ करोड रुपैयाँ चालु खर्च भएको छ भने पुँजीगत खर्च १४ अर्ब ८९ करोड रुपैयाँ भएको छ । त्यस्तै वित्तीय व्यवस्थामा भदौसम्म ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँबराबरको बजेट कार्यान्वयन गरिरहेको छ । जसमा चालुतर्फ ११ खर्ब ४० अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्