काठमाडौं । चिनियाँ कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन स्थापना गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रम आयोजना गरी फाउन्डेसनको औपचारिक घोषणा गरेको हो ।
फाउन्डेसनमा कम्पनीले सुरुवातमा एक करोड रुपैयाँ जम्मा गरेको छ । आगामी दिनमा बिक्री हुने हरेक गाडीबाट फाउन्डेसनमा थप १० हजार रुपैयाँ डोनेट गर्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ जुलियाङले केही वर्ष अघिदेखि नै फाउन्डेसन स्थापनाबारे गृहकार्य भइरहेको जानकारी दिए । उनले सन् २०१५ मा नेपाल आएको बीवाईडी अहिले एक नम्बर ब्रान्ड हुन सफल भएको दाबी गरे ।
‘नेपालमा विद्युतीय सवारी एडप्टेसनमा भएको फास्ट ट्रान्सफर्मेसनले विश्वलाई लिड गरेको छ, ६८ प्रतिशत नयाँ गाडी ईभी बिक्री भइरहेका छन्,’ उनले भने, ‘नेपालमै हालसम्म ५ हजार ४२० युनिट बीवाईडीका गाडी बिक्री भएका छन् ।’
बीवाईडीले ईभीमात्रै बिक्री नगरिरहेको उनले बताए । ‘हामीले ब्याट्री लाइफको बारेमा पनि काम गरेका छौं,’ जुलियाङले भने,, ‘यो फाउन्डेसन ग्राहकको योगदानमा स्थापित हुनेछ ।’
फाउन्डेसनमा अरू कम्पनीलाई पनि हेल्पिङ ह्यान्डका रूपमा आउन उनले आग्रह गरेका छन् । नेपालमा बीवाईडीको सर्भिस सेन्टरहरु बढाउन फास्ट ट्रयाकमा काम भइरहेको जानकारी उनले दिए । ‘ग्राहकलाई फास्ट सर्भिस प्रदान गर्न कम्पनीले काम गरिरहेको छ,’ उनले भने ।
कार्यक्रममा साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले फाउन्डेसनले मल्टिपल एक्स्पेक्ट्रममा काम गर्ने योजना बनाएको जानकारी दिए ।