• Menu

सरकारले अपराधी नसमाऊ, निर्दोष फसाऊ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ भदौ १०, १३:२९

सरकारले अपराधी नसमाऊ, निर्दोष फसाऊ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको महानगरपालिका-११ भद्रकालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढतका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए ।

उनले भने, ‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाऊ भन्दैन, निर्दोषलाई फसाऊ भन्दैन र दोषीलाई छाड्दैन ।’ वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै ओलीले संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए ।

‘यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ,’ ओलीले भने ।

प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उनले बताए । ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात-रोटी खान्छ, घूस खाँदैन, तपाईंहरु कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवान्छित र अनुचित प्रभावमा नलाग्नूस्,’ प्रधानमन्त्रीले भने ।

प्रहरीले साविकको नेपाल खाद्य संस्थानसँग १ अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर १ अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।