काठमाडौं । सरकार, निजी क्षेत्र र विकास साझेदारहरुले मुलुकको विकासका लागि आवश्यक स्रोत जुटाउन थप सक्रियता आवश्यक रहेको बताएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय, संयुक्त राष्ट्र संघ र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको ‘विकासका लागि वित्त’ विषयक संवादका सहभागीले नेपाल स्तरोन्नतिको संघारमा रहकाले थप लगानी आवश्यक रहेको बताएका हुन् ।
दिगो विकास लक्ष्य हासिल गर्न अहिले वार्षिक करिब २५ खर्ब रुपैयाँ आवश्यक देखिएको छ । अर्थतन्त्र चलायमान हुन नसक्दा राजस्वमा भएको संकुचनले विकासका लागि रकम अभाव हुने देखिएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख मुलुकहरुमा राजस्वको ठूलो अंश ऋणको साँवाब्याज भुक्तानीमा खर्च हुने गरेको र विकासका लागि लगानी अभाव हुने गरेको सन्दर्भ प्रस्तुत गरे । उनले नेपाल पनि ती अन्य मुलुकभन्दा फरक नभएको हुँदा स्रोत जुटाउन सरकार, निजी क्षेत्र र विकास साझेदारसँग सहकार्यका लागि आग्रह गरे ।
उनले आगामी महिना संयुक्त राष्ट्र संघमा हुने ‘समिट फर फ्युचर’मा साझा धारणा बनाउन आवश्यक रहेको धारणा राखे । यस संवादले यसमा साझा धारणा बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।
नेपालले जलवायु परिवर्तनमा कुनै ठूलो योगदान नदिएको भए पनि यसको अनुकूलनका लागि सरकारले ठूलो रकम छुट्याउनुपर्ने भएकाले स्रोत थप जुटाउन आवश्यक रहेको उनले बताए । यसमा सहयोग उपलब्ध गराउन विकास साझेदारहरुलाई पनि अर्थमन्त्री पौडेलले आग्रह गरे ।
‘निजी क्षेत्रको लगानी विस्तारका लागि पनि सरकार वातावरण बनाउन तयार छ,’ उनले भने, ‘विदेशी लगानी आकर्षित गर्न क्रेडिट रेटिङ पनि भइरहेको छ ।’
नेपाल राष्ट्र बैंकले विकासका लागि वित्तीय स्रोत जुटाउनेमा राष्ट्र बैंकको अप्रत्यक्ष भूमिका भए पनि सरकार र विकास साझेदारसँगको समन्वयमा वित्तीय समावेशिता हासिल गर्न प्रयासरत रहेको बताए । साना तथा मझौला उद्यमलाई वित्तीय स्रोतमा पहुँच बढाएर केन्द्रीय बैंकले समावशी विकासमा योगदान दिइरहेको उनको भनाइ छ । वित्तीय समावेशितामा डिजिटल बैंकिङ सुविधाले पनि सहज बनाएको उनले बताए ।
कार्यक्रममा उद्योग वणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा विकासका लागि वित्तीय स्रोतको पहिचानसहित आगामी यात्र तय गर्न यो कार्यक्रम सरकार र संयुक्त राष्ट्र संघसँगको सहकार्यमा आयोजना गरिएको बताए ।
प्रत्यक्ष वैदेशिक लगानी घट्दै गएको, राजस्वमा कमी आइरहेको र वैदेशिक अनुदान पनि घट्दै गइरहेको सन्दर्भमा विकासका लागि लगानी जुटाउन सबै तहबाट प्रयास गर्नुपर्ने उनले बताए ।
महासंघले स्वदेश र विदेशमा लगानी प्रवर्धनका लागि विशेष कार्यक्रम आयोजना गरिरहेको उनको भनाइ छ । विदेशी लगानीलाई सहजीकरणका लागि सहायता कक्षसमेत स्थापना गरिएको उनले स्मरण गरे ।
संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरले नेपालको विकास आवश्यकता पूरा गर्न वार्षिक २३ अर्ब डलर आवश्यक रहेको हुँदा लगानी जुटाउन विशेष पहल आवश्यक रहने बताए । अतिकम विकसित मुलुकबाट स्तारोन्नति हुने संघारमा रहेको नेपालका लागि सबैतिरबाट स्रोत जुटाउन आवश्यक रहेको स्पष्ट पारे ।
वित्तीय समावेशिता र लैंगिक समानताका लागि आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्नेमा उनले जोड दिए । ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच बढाउन आवश्यक रहेको सुझाव उनले दिए ।
आगामी वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय विकासका लागि लगानी सम्मेलन महत्वपूर्ण रहेकोले नेपालले सक्रिय सहभागिता जनाउनुपर्ने उनको राय छ ।
अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस संवादबाट आएको धारणा एकीकृत गरी अगामी दिनमा विकासका लागि वित्तीय स्रोत जुटाउने रणनीति बनाउन उपयोग गरिने बताए ।
यूएन स्क्यापका म्याक्रो इकोनोमिक पोलिसी निर्देशक हाम्जा अली मल्लिकले मुख्य वक्ताका रुपमा विकासका लागि वित्तीय स्रोत जुटाउन अन्तर्राष्ट्रिय स्तरमा भइरहेका प्रयास र नेपालले अवलम्बन गर्नुपर्ने नीतिबारे प्रस्तुति दिए ।
उनले सरकारको सार्वजनिक वित्त बढाउन राजस्वसम्बन्धी सुविधामा सुधार गर्नुपर्ने सुझाव दिए । यसैगरी नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पाइने सुविधाका कारण नकारात्मक प्रभाव न्यूनीकरणका लागि थप गृहकार्य गर्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले राजस्वका क्षेत्रमा सुधार गरी स्रोत बढाउनुपर्ने धारणा राखे । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने बताए । त्यस्तै महिला उद्यमी महासंघकी अध्यक्ष सोभा ज्ञवालीले साना मझौला उद्यमीलाई वित्तीय सहयोग उपलब्ध गराई समावेशितामा जोड दिइन् ।
कार्यक्रममा निजी लगानी, सार्वजनिक वित्त र दिगो लगानीका विषयमा तीनवटा सत्रमा छलफल भयो । जसमा सरकारी, निजी क्षेत्र र विकास साझेदारका तर्फबाट करिब १५ जनाले प्रस्तुति दिएका थिए ।