• Menu

काठमाडौंमा असोज १० देखि नेपाल हस्पिटालिटी कन्क्लेभ

नेपाल प्रफिट

२०८१ भदौ २, आइतबार १६:०१

काठमाडौंमा असोज १० देखि नेपाल हस्पिटालिटी कन्क्लेभ

काठमाडौं । काठमाडौंमा असोज १० देखि नेपाल हस्पिटालिटी कन्क्लेभ-२०२४ आयोजना हुने भएको छ । होटल संघ नेपालले राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी कन्क्लेभबारे जानकारी गराएको हो ।

नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्धनमा टेवा दिने उद्देश्यका साथ कन्क्लेभ आयोजना गरिएको होटल संघले जनाएको छ । कन्क्लेभ काठमाडौंको बूढानीलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा आयोजना हुनेछ ।

कार्यक्रममा होटल सञ्चालक, सम्भावित लगानीकर्ता, नीति-निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय होटलहरुको नेतृत्ववर्ग, सेवाप्रदायक लगायत यस क्षेत्रसँग सम्बन्धित करिब २ सय जनाभन्दा बढी सरोकारवाला सहभागी हुनेछन् ।

दुई दिन चल्ने कार्यक्रममा नेपालका होटलको वर्तमान अवस्था, समस्या एवं चुनौती, नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारीलगायत आतिथ्यता क्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ ।

होटल संघ नेपालसँगको सहकार्यमा विनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको साझदारीमा आयोजना हुने दोस्रो संस्करणको कन्क्लेभले होटल क्षेत्रसँग सम्बन्धित ज्ञान, सीप, रणनीति तथा विचारहरुको आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्नेछ ।

सरकारले सन् २०२५ लाई ‘विशेष पर्यटन वर्ष’ र २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको परिप्रेक्षमा आयोजना हुने कन्क्लेभको महत्व अझ धेरै रहेको आयोजकको ठहर छ ।

‘नेपालको आतिथ्यता क्षेत्रको भविष्यको मार्ग तय गर्न यो कार्यक्रम एक रणनीतिक मञ्च हुनेमा हामी विश्वस्त छौं,’ विनस्टक एसिया नेपालको सहसंस्थापक तथा नेपाल हस्पिटालिटी कन्क्लेभको प्रमुख संयोजक सुवोध थापाले भने, ‘नेपालको होटल क्षेत्रमा आइरहेको बृहत स्तरको लगानी र तीव्र प्रतिस्पर्धाको पृष्ठभूमिमा यस कन्क्लेभको अझ महत्व छ ।’

त्यस्तै होटल संघका अध्यक्ष विनायक शाहले कार्यक्रमको दौरान हुने छलफल एवं विचार विमर्शले नेपालको सेवा क्षेत्रलाई थप उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कन्क्लेभले नेपालको आतिथ्यता क्षेत्रले हाल भोग्दै आएका समस्याको निवारण गरी थप मजबुत एवं संस्थागत बनाउन अवलम्बन गरिनुपर्ने उपाय तथा चालिनुपर्ने कदममाथि जोड दिँदै सरकारलाई विभिन्न सुझावसहितको श्वेतपत्र पनि बुझाउनेछ ।

प्रतिक्रिया दिनुहोस्