• Menu

नेप्सेमा २५ अर्ब ७७ करोडको रेकर्ड बन्दा दुई कम्पनीको मात्रै २ अर्ब ६८ करोडको सेयर कारोबार

नेपाल प्रफिट

२०८१ साउन २७, १५:२०

नेप्सेमा २५ अर्ब ७७ करोडको रेकर्ड बन्दा दुई कम्पनीको मात्रै २ अर्ब ६८ करोडको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २५ अर्ब ७७ करोडको रेकर्ड बन्दा दुईवटा कम्पनीले मात्रै दुई अर्ब ६८ करोडभन्दा बढी मूल्यको सेयर कारोबार गरेका छन् ।

आइतबार सेयर बजार परिसूचक ९४ अंकले बढ्दा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । आज नेपालको सेयर बजार इतिहासमै सर्वाधिक २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको हो ।

नेप्से परिसूचक ९४.४६ अंकले बढेर २८६०.८४ अंकमा उक्लिएको छ । आज हालसम्मको उच्च कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्टले मात्रै दुई अर्ब ६८ करोडभन्दा बढी मूल्यको सेयर कारोबार गरेका हुन् ।

आज हिमालयनको एक अर्ब ५२ करोड २ लाख र शिवम् सिमेन्टको एक अर्ब १६ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । हिमालयन रिको साउन २१ यता लगातार अर्बमाथिको कारोबार भइरहेको छ भने शिवमको यसअघि बिहीबार अर्बमाथिको सेयर कारोबार भएको थियो ।

आज २५५ कम्पनीका लगानीकर्ताले कमाउँदा १५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । दुई कम्पनीको सेयर मूल्यमा परिवर्तन आएन ।

आइतबार ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ भने २६ कम्पनीका लगानीकर्ताको सम्पत्तिको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सबै समूहमा हरियाली छाउँदा नेप्से ३.४१ प्रतिशतले उकालो लागेको हो ।