• Menu

जीवन बिमा कम्पनीले एक वर्षमा संकलन गरे एक खर्ब ५६ अर्ब बिमाशुल्क, १० प्रतिशत बढ्यो व्यवसाय

नेपाल प्रफिट

२०८१ साउन २५, शुक्रबार ११:३०

जीवन बिमा कम्पनीले एक वर्षमा संकलन गरे एक खर्ब ५६ अर्ब बिमाशुल्क, १० प्रतिशत बढ्यो व्यवसाय

काठमाडौं । प्रतिकूल आर्थिक अवस्थाका बाबजुद जीवन बिमा कम्पनीहरु व्यवसाय बढाउन सफल भएका छन् । देश नै आर्थिक मन्दीका चपेटामा परेका बेला पनि जीवन बिमा कम्पनीहरुको व्यवसाय करिब १० प्रतिशतले बढेको हो ।

सञ्चालनमा रहेका १४ जीवन बिमा र तीन लघु जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ५६ अर्ब रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ९.८२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष जीवन बिमा कम्पनीहरुले एक खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका थिए ।

जीवन बिमा कम्पनीहरुले गत वर्ष ३४ अर्ब ५१ करोड प्रथम बिमाशुल्क र एक खर्ब २१ अर्ब ९८ करोड नवीकरणीय बिमाशुल्क संकलन गरेका हुन् । संकलित कुल बिमाशुल्कमध्ये लघुबिमाको हिस्सा १६ करोड ९७ लाख रुपैयाँबराबर छ ।

गत वर्ष सबैभन्दा बढी ४० अर्ब ८५ करोड बिमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

२०८१ असार मसान्तसम्ममा सबै बिमा कम्पनीले गरी एक करोड ३८ लाख ८१ हजार ४९२ वटा बिमालेख जारी गरेका छन् । बिमालेख संख्या यो वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा बिमालेख १.८१ प्रतिशतले घटेको हो । २०८० असारसम्ममा जीवन बिमकहरुले एक करोड ४१ लाख ३७ हजार ३२१ वटा बिमालेख जारी गरेका थिए ।

बिमा प्राधिकरणको तथ्यांकअनुसार कुल जनसंख्याको ४३.२७ प्रतिशत मानिस बिमाको दायरामा छन् ।

प्रतिक्रिया दिनुहोस्