• Menu

श्री एयरलाइन्सको विमान धावनमार्गबाटै किन फर्कियो ?

नेपाल प्रफिट

२०८१ साउन २५, शुक्रबार १०:३२

श्री एयरलाइन्सको विमान धावनमार्गबाटै किन फर्कियो ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमा ल्याइएको हो ।

बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनिता कठायतले जानकारी दिइन् ।

‘यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासि फर्काएपछि यात्रुले किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए,’ उनले भनिन् । सांसद कठायतले विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काइनु एयरलाइन्सको लापर्वाही भएको बताइन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए । ‘प्राविधिक समस्याका कारण होइन, दुई–चार जना यात्रुबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्,’ उनले भने ।

नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रुबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्‍याएर यात्रुलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ । अहिले सोही विमानमार्फत यात्रु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए ।