काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये जम्मा पाँचवटा वाणिज्य बैंकले साढे २६ अर्ब नाफा कमाएका छन् । पाँच वाणिज्य बैंकको नाफा हिस्सा ४१.३५ प्रतिशत छ ।
हालै सार्वजनिक गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार पाँचवटा वाणिज्य बैंकले २६ अर्ब ५२ करोड ९६ लाख नाफा गरेका हुन् । जबकि, सबै वाणिज्य बैंकले गत वर्षभरमा ६४ अर्ब १५ करोड खुद नाफा गरेका छन् ।
गत वर्ष सबैभन्दा धेरै नबिल बैंकले ७ अर्ब ६ करोड नाफा कमाएको छ । दोस्रोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड ६२ लाख आर्जन गरेको छ ।
त्यस्तै तेस्रोमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड ८३ लाख, चौथोमा रहेको प्रभु बैंकले ४ अर्ब ४८ करोड ८ लाख र पाँचौं स्थानमा रहेको प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।