• Menu

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

नेपाल प्रफिट

२०८१ साउन २०, १२:४८

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जीवन बिमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लब इन्टरनेसनलद्वारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लबले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो ।

व्यावसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा गरेको योगदानको कदर स्वरुप मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेसनले जनाएको छ । उद्योग वाण्ज्यि महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं लायन्स इन्टरनेसनलका पदाधिकारीले उनलाई संयुक्त रुपमा सम्मान गरेका छन् ।

अध्यक्ष मल्लले कर्पोरेटसँगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । लायन्स इन्टरनेसनलद्वारा सम्मानित भएपछि उद्योगी मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । लायन्स जस्ता संस्थाले जलवायु परिवर्तनविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ ।

‘जलवायु परिवर्तनको असर नेपालमा पनि परिरहेको छ । लायन्स जस्ता संस्थाको संगठन बृहत् छ, यसलाई जलवायु परिवर्तनविरुद्धको गतिविधिमा संलग्न गराउन आवश्यक छ,’ उनले भने ।

लायन्स इन्टरनेसनले अध्यक्ष मल्लसहित कला र खेलकुद एवं शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउनेहरुलाई सम्मान गरेको थियो ।