• Menu

सिटिजन्स बैंकको खुद नाफा एक अर्ब ३४ करोड, लोन लस प्रोभिजनको रकम बढ्दा नाफा प्रभावित

नेपाल प्रफिट

२०८१ साउन २०, १०:१२

सिटिजन्स बैंकको खुद नाफा एक अर्ब ३४ करोड, लोन लस प्रोभिजनको रकम बढ्दा नाफा प्रभावित

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष बैंकले एक अर्ब ८६ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

लोन लस प्रोभिजन बढ्दा कम्पनीको नाफा प्रभावित भएको हो । २०८१ असारसम्ममा लोन लस प्रोभिजनबापत बैंकले छुट्याएको रकम एक अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । २०८० असारसम्म लोन लस प्रोभिजनका लागि छुट्याएको रकम १ अर्ब २१ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि सामान्य घटेको छ । बैंकले गत आर्थिक वर्ष ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्ल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ८२ करोड रुपैयाँ थियो ।

बैंकको निष्क्रिय कर्जा हिस्सा बढेर ४.०७ प्रतिशत पुगेको छ । बैंकको नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष १३ रुपैयाँ १२ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी अहिले ९ रुपैयाँ ४५ पैसामा झरेको हो ।

बैंकको आधार दर ८.२६ प्रतिशत छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।