काठमाडौं । भ्रमणका लागि दक्षिण एसियाली ६ मुलुक र चीन जाने नेपालीले अब दोब्बर डलर लैजान पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले स्थलमार्गबाट भारतबाहेकका दक्षिण एसियाली मुलुक र चीनमा वैदेशिक भ्रमणमा जानेलाई भिसाका आधारमा दिइने डलर सटही सुविधा दोब्बर बनाएको हो ।
राष्ट्र बैंकले विदेशी विनियम कारोबारसम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै सीमा बढाएको छ । यससँगै भारतबाहेकका दक्षिण एसियाली मुलुक र चीन भ्रमणमा जानेले एकपटकमा एक हजार अमेरिकी डलर र एक वर्षमा बढीमा दुई हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् ।
राष्ट्र बैंकले यसअघि एक पटकमा पाँच सय र एक वर्षमा एक हजार डलरसम्मको सटही सुविधा दिएको थियो ।
सार्वजनिक खरिद कानुन लागू हुने सार्वजनिक निकायले भने सार्वजनिक खरिद कानुनबमोजिम विदेशी मुद्राको सटही सुविधा माग गरेमा बैंकहरूले सोझै प्रदान गर्न सक्ने व्यवस्था छ ।
यसअघि, संवैधानिक निकाय, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र नेपाल सरकारको ५१ प्रतिशत वा त्योभन्दा बढी स्वामित्व भएका सार्वजनिक निकायले यसरी सटही सुविधा पाउँदै आएका थिए ।