काठमाडौं । निर्जीवन बिमा कम्पनीले एक वर्षमा साढे ४१ अर्ब रुपैयाँबराबरको व्यवसाय गरेका छन् । सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनी र चार लघु निर्जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँबराबरको बिमा शुल्क संकलन गरेका हुन् ।
संकलित बिमा शुल्कमध्ये निर्जीवनको हिस्सा ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ छ भने लघु निर्जीवनको २९ करोड ४८ लाख रुपैयाँ छ ।
निर्जीवन बिमा कम्पनीहरुले एक वर्षमा २९ लाख ७७ हजार ११६ वटा बिमालेख जारी गरेका छन् । त्यसमध्ये निर्जीवनले २८ लाख ४९ हजार ९३४ वटा बिमालेख जारी गरेका छन् भने लघु निर्जीवनले १ लाख २७ हजार १८२ वटा जारी गरेका छन् ।
नेपाल बिमा प्राधिकरणका अनुसार बिमा कम्पनीको व्यवसाय अघिल्लो वर्ष २०७९/८० मा भन्दा सामान्य बढेको छ । अघिल्लो वर्ष निर्जीवन बिमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ वटा बिमालेख जारी गरेका थिए भने ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए ।
समीक्षा अवधिमा सबैभन्दा धेरै बागमती प्रदेशमा १२ लाख ६४ हजार ९८४ वटा र सबैभन्दा कम कर्णालीमा ६२ हजार १७१ बिमालेख जारी भएका छन् । त्यस्तै बागमतीले २७ अर्ब ६ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ भने ५३ करोड १९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

कृषि तथा बालीमा छैन आकर्षण
निर्जीवन बिमा कम्पनीहरु सरकारले अनिवार्य गरेको मोटर बिमामा केन्द्रित देखिएका छन् । तर, कृषि बिमा भने खासै प्राथमिकतामा परेको देखिँदैन ।
बिमा प्रिमियममा सरकारले दिने अनुदानसमेत समयमा नपाउने समस्याका कारण कृषि तथा बाली बिमामा कम्पनीहरुको आकर्षण कम देखिएको हो ।
गत वर्ष कृषि तथा बालीतर्फ एक लाख ५० हजार ३४५ वटा बिमालेख बिक्री गरी निर्जीवन बिमा कम्पनीले २ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
कृषि बिमा संख्या अघिल्लो वर्षभन्दा घटेको हो । अघिल्लो वर्ष एक लाख ८० हजार ९१५ कृषि तथा बाली बिमालेख जारी गरी कम्पनीहरुले २ अर्ब ३५ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए ।
समीक्षा अवधिमा मोटर बिमा भने उच्च छ । निर्जीवन बिमा कम्पनीहरुले एक वर्षमा १६ लाख ४५ हजार ९०६ वटा मोटर बिमालेख बिक्री गरी १२ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेका छन् ।
