काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी स्थापनाको २८औं वर्ष पूरा गरेको छ । २०५१ साउन १७ गते निर्जीवन बिमा व्यवसाय आरम्भ गरेको कम्पनी आजबाट २९औं वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले बिमितलाई जतिसक्दो छिटो दाबी भुक्तानी दिने, लगानीकर्तालाई उच्चतम् प्रतिफल दिने तथा बिमितको जोखिमको उचित तरिकाले रक्षावरण गर्ने प्रतिबद्धता जनाएको छ ।
पाँच करोड रुपैयाँ पुँजीबाट स्थापना भएको कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ३७ करोड रुपैयाँ छ । कम्पनीले एलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट निर्जीवन बिमा व्यावसाय थालेको थियो ।
प्रभु ग्रुपले लगानी गरेपछि नाम परिवर्तन गरी प्रभु इन्स्योरेन्स राखिएको हो । कम्पनी हाल ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रियामा छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले एक दशकदेखि लगानीकर्तालाई उच्च प्रतिफल दिँदै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित ब्रजाचार्यले नेपाली बिमा क्षेत्रमा बिमितलाई छिटो र छरिटो सेवा प्रदान गर्ने कम्पनीको रुपमा स्थापित हुन सफल भएको बताए ।
आगामी दिनमा प्रविधिमैत्री, शाखारहित सेवा प्रदान गर्ने र दाबी प्रक्रियालाई सरलीकृत गर्दै अझै सरल र तत्कालै दाबी भुक्तानी पाउने व्यवस्था गरिने प्रतिबद्धता उनले जनाए ।