काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वविद्यालयमा राजनीति नगर्न र आफ्नो बचन पूरा गर्न सचेत गराएकी छन् ।
त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको विषयमा असन्तुष्टि जनाउँदै सांसद सुमनाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएकी हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्-
प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू,
विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो ?
पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल साउन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नुभयो ।
विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मेहनत गरेर तयार पारेर अपनत्वसमेत लिएको त्यो दस्तावेज थियो त्यो । रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भइसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई ?
त्रिवि प्राज्ञले भन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ? यस्तो हस्तक्षेपले राजनीतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रस्ट पार्छ ।
अब के हुन्छ ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनुहुन्छ ? नझुलाउनका लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नुहुन्छ ? आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरीखाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थी मुकदर्शक न हुन् होइन त ?
स्मरण रहोस्, नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के-के हेरफेर हुन्छ, हामी हिसाब राख्ने छौँ ।
२०८० मंसिर २७ गते अनलाइन खबरमा प्रकाशित लेख : ‘प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन किन चाहँदैनन् दलहरू ?’ मा अनेरास्ववियुका अध्यक्ष समिक बडालले दलहरूले विश्वविद्यालयलाई प्राज्ञिक मर्यादाको रूपमा भन्दा राजनीतिक स्वार्थपुर्ति गर्ने केन्द्र बनाइरहेको बताएका थिए । त्यही लेखमा तपाईंले भन्नुभएको छ ‘प्रधानमन्त्री कुलपति रहन आवश्यक छैन’ भनेर।
तपाईंकै युवा नेताले राजनीतिक दलहरुको कारण शिक्षा खस्किएको भनी उदाहरणसहित दिनुभएको छ । आफैं पनि पदेन राजनीतिक नियुक्ति नचाहिने भनिसक्नुभएको छ ।
तपाईंको बोलीमाथि अब जनताले विश्वास गर्ने कि नगर्ने ?