काठमाडौँ । रातभर परेको भारी वर्षाले संघीय राजधानी सहर रहेको काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस नै असुरक्षित बनेका छन् । नदीनालामा पानीको सतह बढेर बस्ती तथा बजारमा पसेको छ भने काठमाडौं र ललितपुरमा मात्र ३६ जनाको उद्धार गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको हो ।
काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एक जनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।
ललितपुरको यूएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका-८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ ।
अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार वर्षाका कारण ललितपुर महानगरपालिका-९ स्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।
‘डुबानमा परेका क्षेत्रमा उद्धारका लागि बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ,’ सूचना अधिकारी सुवेदीले भने ।
ललितपुर महानगरपालिका-२ सानेपा, वडा नं ९ शंखमूल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका-७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका-९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेतर्फ जाने सडक अवरूद्ध भएको छ ।
बाढीका कारण गोदावरी नगरपालिका-१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका-८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।

यसैगरी, पहिरोले बागमती गाउँपालिका-३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।
अविरल वर्षासँगै बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ । तरकारी बजार डुबेपछि व्यवसायीले ठुलो क्षति व्यहोर्नुपरेको छ । बजार डुब्दा तरकारी र अन्य सामानमा क्षति पुगेको व्यवसायीले बताएका छन् ।
बल्खु खोलाको बाढीमा परेर एक जनाको मृत्यु भएको छ । प्रहरीले बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ ।
भक्तपुरमा पनि बाढीका कारण सयौं घर डुबानमा परेका छन् । मंगलबार सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका थिए । ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको थियो ।
