काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक-सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताएका छन् । चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास चीनको चाहना भएको बताएका हुन् ।
राजदूत सोङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताए । उनले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण भएको जानकारी गराए । उनले सुधारका योजनाबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे ।
‘यी सुधारका उपायले चीन र नेपाललाई हिमालय पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, डिजिटल टेक्नोलोजी, ऊर्जा र पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ,’ राजदूत छनले भने ।
फरक प्रसंगमा उनले चिनियाँ कम्युनिस्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको बताए । उनले चिनियाँ कम्युनिस्ट पार्टी सुधार र खुलापनलाई दृढतापूर्वक उठाउँदै नयाँ युगको नयाँ यात्रामा लम्किरहेको स्पष्ट पारे ।
चिनियाँ राजदूतले भने, ‘सुधार र खुलापनलाई निरन्तर प्रक्रियाका रूपमा कायम राख्ने निर्णय बैठकले गरेको छ, भविष्यका लागि अझ सुधार र विकासको योजना बनाएइका छन् ।’
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्द्रपूर्ण सम्बन्ध रहेको बताए ।
‘दुई देशबीचको सम्बन्ध समस्यामुक्त छ, चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ । नेपालले सधैँ चीनको चासोलाई ध्यानमा राखेको छ । बीआरआई परियोजना कार्यान्वयनको ढाँचाबारे दुवै देशका सरकारले चाँडै निर्णय गर्ने र परियोजना शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु,’ उनले भने ।
नेपाल र चीनबीचको सम्बन्ध सरकारी स्तरमा मात्र नभई जनस्तरमा पनि प्रगाढ बन्दै गएको उनले बताए । ‘जनता-जनताबीचको सम्बन्ध आपसी लाभ र समझदारी प्रवर्धनका लागि उपयोगी भएको छ,’ उनले भने, ‘प्रविधि र ज्ञान आदानप्रदान शैक्षिक उन्नतिमा केन्द्रित हुनुपर्छ ।’
नेपाल-चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीनको विकास र समृद्धिको अनुभवबाट नेपाल र बाँकी विश्वले सिक्न सक्ने धेरै विषय रहेको बताए ।
चाइना मिडिया ग्रुपका एसिया-प्रशान्त निर्देशक छा ओइ छाओ इले नेपालको परिचय आत्मीय र सरल नेपालीको हार्दिकताले दिने गरेको बताए । हरेक पटक नेपाल आउँदा पुरानो मित्रको घरमा आएजस्तो अनुभव हुने गरेको अनुभव उनले सुनाए ।
‘नेपाल विकासपथको खोजीमा सक्रिय छ, स्वतन्त्रता, आत्म सुदृढीकरण र समृद्धि हासिल गर्न नेपाल प्रयासरत छ,’ उनले भने, ‘हिमालयको वारिपारि रहेका चीन र नेपालको बीच सर्वोच्च शिखर सगरमाथा छ, दुई देशका जनताबीचको सम्बन्ध पनि त्यति नै उच्च छ ।’
सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।