सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् ।
सचिवहरुलाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको पनि स्मरण गरे ।
‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका छ,’ उनले भने, ‘त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।’
उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले असफल हुँदैन भनेर हातमा हात बाँधेर आरामले बस्न भने नमिल्ने बताए ।
‘भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिँदैन । हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गरौं भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिनाआग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ,’ उनले भने ।
यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेहरुलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने स्पष्ट पारे ।
‘त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरुले ढुक्कले ठिक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनछ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध काम गर्न पनि सचिवहरुलाई निर्देशन दिए ।
निर्देशनका मुख्य बुँदा
– सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् हो । यो ललितपुरकै एक कार्यालयको घटना हो ।
सरकारबाट जनता निराश हुनुपर्ने यस्तो खालको रवैया अन्त्य हुनुपर्छ । कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन, हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ ।
नागरिक एप्सका माध्यमबाट पनि सेवा व्यावहारिक र प्रभावकारी बनाउन सकिन्छ । त्यसैले कुनै पनि नागरिकलाई लाइन नगरी सहज रुपमा सेवा दिइनुपर्छ । दुःखी गरिबलाई मान्छे नै नगन्ने प्रवृत्ति राख्नु हुँदैन । यसमा सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराउँछु ।
– ढुक्कसँग काम गर्नुस् । यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ ।
– राज्यका मन्त्रालय र निकायमा तलब दिइएकाले बैठक आदिको भत्ता लिने गर्नु उचित हुँदैन । मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, आर्थिक अवस्था राम्रो छैन । हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनु छ । दिनभरि काम नगर्ने र ५ बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नु ।
– हामीले नयाँ कामभन्दा पनि हाल थालिएका काम सम्पन्न गर्ने गरी लाग्नुपर्छ । काम सम्पन्न गर्नेतर्फ मुख्य ध्यान हुनुपर्छ ।
– हामीले इन्धन आयातका लागि खर्चने अर्बौं रकम बचाउने योजनामा जानुपर्छ । जलविद्युतको विकास र उपयोगमा ध्यान दिनुपर्छ ।
– इजरायल र मलेसियाले समुद्रको पानी प्रशोधन गरेर पिउने पानी बनाइरहेको छ । हामीले सगरमाथाको पानीलाई किन ब्रान्डिङ नगर्ने ? यसमा ध्यान दिन सक्नुपर्छ ।
– कुनै पनि कुरामा ढिलासुस्ती नहोस् । समन्वय बढाउनुस् । प्रम्ट रेस्पोन्स गरिनुपर्छ । सेवा लिने नागरिकले कति टाढादेखि बाटो खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम विना झन्झट गरिनुपर्छ ।
– अनावश्यक समिति र संरचना नबनाउने । कामको परिणाम देखिने गरी गर्ने ।
– हामीले देश र जनताका लागि समर्पित भएकार काम गर्ने हो । जिम्मेवारी अर्कोलाई नपन्छाउने हिसाबले काम गर्नु ।
– कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठिक समयमा गरेर पूर्णरुपमा काम गर्ने पद्धतिमा जानु । आदेशका भरमा भन्दा कानुनबमोजिम आफैंले जिम्मा लिएर गर्नु ।
– हामी दिगो विकासका लक्ष्य पूरा गराउनुपर्ने दायित्वमा छौँ । गरिबीको अन्त्यको हाम्रो मुख्य निसाना हुनुपर्छ ।
– सम्पति शुद्धीकरणका जटिलता छन् । आफ्नै सम्पत्ति बिक्री गर्दा पनि स्रोत देखाउनुपर्ने जस्ता स्थिति छन् । यस्ता अन्योल र प्राविधिक पक्षलाई व्यवस्थित गर्नुपर्छ ।
– काम गर्नका लागि बजेटको अभाव भन्ने कुरा आएको छ, वास्तविकता के छ ? नियमित बजेट खर्च हुने तर विकास खर्च कम हुने स्थिति देखिएको छ । जनतालाई डेलिभरी दिने विकासले हो । त्यसैले पर्याप्त पुँजीगत खर्च गरेर जानुपर्छ । सेवाग्राहीले निवेदन दिनेबित्तिकै काम थाल्ने र निर्णय छिटो दिने पद्धतिमा जानुपर्छ । फाइल रोकेर राख्न मिल्दैन ।
– बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी नपाउने अवस्था राम्रो होइन । उनीहरुले ऋण लिएर लगानी गरेका हुन्छन्, हामीले समयमा भुक्तानी नदिने गर्दा उनीहरु मर्कामा पर्छन् । यसरी कृषिको आधुनिकीकरणमा पुग्न सकिँदैन ।
– निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिका हुनु हुँदैन । को सँग के हिसाब नमिलेर वा के भएर हो बनिसकेको कामको रकम निकासा रोकिनु हुँदैन ।
– हामी आर्थिक अनुशासनलाई पालना गरौं । रुजु हुने गरी काम गरौँ । अनुदानका रकमको व्यवस्थित वितरण गरौं । व्यवसाय गर्नेलाई प्रोत्साहित गर्नुपर्छ तर व्यक्तिगत रुपमा दिइने कृषि अनुदान आदिका रकमको दुरुपयोग भएको छ, अनुगमन गरौँ ।
– करका दरहरु विस्तार गर्ने कुरामा उत्साहित नहोऔँ । मौद्रिक नीतिले बजारमा राम्रो उत्साह दिएको छ, यसलाई काम राखेर जानुपर्छ । बजारलाई चलायमान हुने गरी जानुपर्छ ।
– धरहरा बनिसकेको छ, पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन । पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ।
– सरकारको कार्यकालको सय दिनसम्म पुग्दा साधारणतया मन्त्रीहरुले अरुको आलोचना नगर्नु । आफ्नो काम गर्नु । हरेक मन्त्रालये सय दिनभित्र यो यो काम गरियो भन्ने देखिने खालका आकर्षक प्रतिवेदन दिने गरी मान्छेले गरे है भन्ने सोच्ने गरी लाग्नु ।
– प्राथमिकताप्राप्त आयोजनाहरुका काम वर्षौंसम्म नसिकने स्थिति हुन हुँदैन ।
– हामी सगरमाथा संवाद गर्छौं, त्यसको तयारीमा लागौँ ।
– मैले एक अन्तर्राष्ट्रिय पुरस्कार पाएको रकम सरकारलाई दिएर र थप बजेट विनियोजन गरेर सुरु भएको राष्ट्रिय प्रतिभा पुरस्कार किन नियमित भएन ? नियमित होस्, प्रतिभालाई हामीले प्रोत्साहन गर्नुपर्छ ।
– हवाई र सवारी दुर्घटनाका घटना भइरहेका छन् । हामीले राजमार्गका सडकमा लामो जरा भएका बिरुवा लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ । रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।
– जनता आवास, एकीकृत विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्न सक्नुपर्छ । काठमाडौँका सुकुम्बासीलाई एकान्तमा लगेर घर बनाइदिएर उनीहरुलाई बजारसँग पहुँच हुन सक्दैन । ती घर काम लागेनन् । त्यो खालका कामबाट शिक्षा लिएर अब व्यावहारिक रुपमा उचित हुने गरी काम गर्नुपर्छ ।
– तरकारीमा विषादीको प्रयोग गर्ने नगर्ने क्यारेन्टइनबारे तीन महिनाभित्र निर्णय दिनुपर्छ ।
– निजी क्षेत्रलाई साथ लिएर जानुपर्छ । व्यावसायिक क्षेत्रका सम्बोधन हुने गुनासा सुन्नुपर्छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal