• Menu

सेयर बजारमा १०० अंकको उतारचढाव, सवा १७ अर्बको कारोबार

नेपाल प्रफिट

२०८१ साउन १५, १५:४१

सेयर बजारमा १०० अंकको उतारचढाव, सवा १७ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा मंगलबार १०० अंकको उतारचढाव आएको छ । बजार खुलेपछि १२ बजेर ४० मिनेटसम्ममा २६०९.०२ अंकसम्म झरेको बजार त्यसपछि बढेर २७०९.८९ अंकसम्म उक्लिएको हो ।

कारोबार बन्द हुँदा नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ अंकमा पुगेको छ । आज वाणिज्य बैंक, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापारबाहेकका सबै समूह उकालो लागेका छन् ।

होटल तथा पर्यटन समूह ५.९९, वित्त समूह ५.९८, विकास बैंक समूह २.४, जलविद्युत ३.१२, लगानी समूह ३.१५ र अन्य समूह ३.५२ प्रतिशतले बढेका छन् । बाँकी समूहको वृद्धि १ प्रतिशतभन्दा कम छ ।

चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने आठ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।