• Menu

सहकारीको रकम अपचलन गरी विदेश भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन, सूचीमा को को छन् ?

नेपाल प्रफिट

२०८१ साउन १४, १४:११

सहकारीको रकम अपचलन गरी विदेश भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन, सूचीमा को को छन् ?

काठमाडौं । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी विदेश भागेकाहरुलाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले सहकारीको रकम अपचलन गरी विदेशमा लुकेर बसेका १८ जनालाई तत्काल स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको हो ।

समिति सभापति सूर्य थापाले कति अमेरिका, कति बेलायत, कति मलेसिया, कति भारत र कतिको स्थिति अज्ञात रहेको हुनाले उनीहरूलाई खोज्न, स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई आग्रह गरेको जानकारी दिए ।

संसदीय समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने पनि निर्णय गरेको छ । बाहिर भएका व्यक्तिलाई बोलाएर छालफल गर्ने र कारागारमा भएकाहरुसँग सोधपुछ गर्न आवश्यक जनशक्ति र समय प्रबन्ध गर्न गृहमन्त्री र सचिवलाई आग्रह गरिएको समितिले जनाएको छ ।

यी हुन् १८ जना

सहारा, सूर्यदर्शनलगायतका सहकारीका अध्यक्ष जीबी राई ।

सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई र भुपेन्द्र राई ।

सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली ।

सहारा तथा सुप्रिमका सुवास केसी ।

सुमेरु सहकारीका भरत महर्जन, उनकी श्रीमती माजमाया, छोरा सचिन र छोरी सरला ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ ।

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल ।

शिवशिखर सहकारीका लीलानाथ गौतम ।

कान्तिपुर सेभिङका प्रेमध्वज लामा ।

मेघाड्रिमका महाशंकर रेग्मी ।