काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार ११३ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा उछाल आएपछि समग्र बजार परिसूचक ११३.४२ अंकले बढेर २५६८.१३ अंकबाट बढेर २६६८.५६ अंकमा उक्लिएको छ ।
वाणिज्य बैंक समूह ९.८९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा ४.२४, लगानी ५.७५, विकास बैंक ४.८७, अन्य समूह ३.१९ प्रतिशतले बढेका छन् । लघुवित्त समूह भने आज घटेको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कारोबार सुरु भएको १ मिनेट ३१ सेकेन्डमै ४ प्रतिशतले बढ्यो र २० मिनेटका लागि कारोबार बन्द भयो ।
दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक थप १ प्रतिशत बिन्दुले बढेर ५ प्रतिशत पुग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । दोस्रोपटक सर्किट लाग्दा नेप्से परिसूचकले २७०८.५८ अंक पार गरिसकेको थियो ।
दोस्रोपटक सर्किट लागेर बजार खुलेपछिको १२ भित्र परिसूचक ८४ अंकले घट्यो र बजार केही सम्हालियो । तर, पूरा समय कारोबार भएको बजार १११ अंकले बढेर २६८० अंकमा उक्लिएको छ भने वाणिज्य बैंक समूहको सेयर मूल्यमा उछाल आएको छ ।
वाणिज्य बैंक समूहमा रहेका १९ वटा कम्पनीमध्ये ९ वटामा सकारात्मक सर्किट लागेको छ भने ९ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज १५ अर्ब ८१ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।