• Menu

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

नेपाल प्रफिट

२०८१ साउन ११, शुक्रबार २०:५८

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकले, शशिला मोटर्स तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा कम्पनीले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् नियमानुसार तीन कार्यदिनभित्र कर्जा प्रवाह गर्नेछ ।

ग्रिन फाइनान्सिङ प्रवर्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । बैंकले व्यक्तिगत प्रयोगकर्तालाई ‘अटो लोन’ तथा भाडाको प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।