• Menu

नेप्सेमा ३२३ अंकको वृद्धिपछि ‘करेक्सन’, कारोबार रकम ३५ महिनायताकै उच्च

नेपाल प्रफिट

२०८१ साउन ९, बुधबार १६:०४

नेप्सेमा ३२३ अंकको वृद्धिपछि ‘करेक्सन’, कारोबार रकम ३५ महिनायताकै उच्च

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ३२३ अंकको वृद्धिपछि करेक्सन आएको छ । साउन १ देखि लगातार बढेको नेप्से बुधबार २७ अंकले घटेको हो ।

साउन १ गते २२४०.४१ अंकबाट खुलेको बजार त्यसयताका ६ कारोबार दिनमा ३२३.०२ अंक उक्लिएर मंगलबार २५६३.४३ अंकमा उक्लिएको थियो । बुधबार २७.३२ अंकको करेक्सन सँगै बजार २५३६.११ अंकमा ओर्लिएको छ ।

बुधबार कारोबार सुरु भएको २६ मिनेटमै नेप्से परिसूचकले २६०० अंक पार गरेको थियो । त्यसपछि तीव्र उतारचढाव हुँदै २७ अंक घटेर बजार बन्द भएको हो ।

बजार घट्दा पनि ४६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १९४ कम्पनीका लगानीकर्ताले गुमाउँदा २ वटा कम्पनीको मूल्य स्थिर रह्यो । बोटलर्स नेपाल (तराई) र एसियन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै चन्द्रागिरि हिल्स, समृद्धि फाइनान्स र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ता पनि आज भाग्यमानी सावित भए ।

नेप्सेमा आज १६ अर्ब २० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनापछि सर्वाधिक हो ।

आज वित्त र होटल तथा पर्यटनबाहेकका सबै उपसमूह घटेका छन् । सबैभन्दा धेरै व्यापार समूहमा ३.०९ प्रतिशतको गिरावट आएको छ ।

आज सर्वाधिक हिमालयन रि–इन्स्योरेन्सको ३६ करोड ७ लाख, शिवम् सिमेन्टको ३४ करोड २२ लाख, माथिल्लो तामाकोशीको २९ करोड ४७ लाख र हिमाल दोलखा हाइड्रोपावरको २३ करोड १३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।