• Menu

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा चन्द्र ढकाल, आर्थिक कूटनीति प्रवर्धन पहिलो प्राथमिकतामा

नेपाल प्रफिट

२०८१ साउन ८, १९:०९

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा चन्द्र ढकाल, आर्थिक कूटनीति प्रवर्धन पहिलो प्राथमिकतामा

काठमाडौं । नेपालमा कार्यरत अवैतनिक वाणिज्य दूतहरुको संस्था अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)ले मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ ।

साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ । हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कूटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

आर्थिक कूटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।

स्वागत मन्तव्यमा एचसीसीएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्य दूतहरुले लगानी भित्र्याउने, पर्यटन प्रवर्धन गर्नेलगायतका द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको बताए ।

नेपाली विधार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्तिदेखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउनसमेत वाणिज्य दूतहरुले भूमिका खेलेको उनले जानकारी गराए ।

औपचारिक रुपमा सन् २००७ मा स्थापना भएको यो संस्थाका सदस्यले विश्वका पाँच महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्छ ।

एचसीसीएनले जेठ दोस्रो साता लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयक अन्तर्राष्ट्रिय कन्क्लेभ आयोजना गरेको र सो कार्यक्रममा विश्वका विभिन्न देशका १९ राजदूत र प्रतिनिधि सहभागी भएको उनले बताए ।

‘बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याएको छ,’ उनले भने ।

एचसीसीएनका नवनियुक्त डिन ढकालले एचसीसीएनले आर्थिक तथा सांस्कृतिक रुपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको बताए । ‘परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा आर्थिक कूटनीतिमार्फत नयाँ अवसरलाई आत्मसात गर्न एचसीसीएन सधैं तयार छ,’ उनले भने ।

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउने विषयसँग सम्बद्ध यसअघिका कानुन तथा नीतिलाई सुधार गरेर लगानीमैत्री वातावरण तयार पारेको चर्चा गर्दै ढकालले एचसीसीएनले लगानी भित्र्याउन र देशको आर्थिक समृद्धिका लागि योगदान गर्ने बताए ।

कार्यक्रमा परराष्ट्रमन्त्री राणाले एचसीसीएनको आधिकारिक वेबसाइट सार्वजनिक गरेकी छन् । वेबसाइटमा नेपालमा कार्यरत अवैतनिक वाणिज्य दूतको कार्यालयसम्बन्धी जानकारी, संस्थाले विगत र हाल गरेका गतिविधिलगायतका सूचना राखिएको छ ।