काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ अर्बको रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र बिक्रीका लागि ग्लोबल आइएमई बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकले वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने ‘ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो ।
जारी युनिटको ४० प्रतिशत अर्थात् २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् ३ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी ११ सयभन्दा बढी सेवा केन्द्र छन् ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।