काठमाडौं । सेयर बजार परिसूचक नेप्से ६१ अंकले बढेको छ । गत साताभरमा २१९ अंकले बढेको नेप्से यो साताको पहिलो दिन नै ६१.६१ अंकले बढेर २४८५.९४ अंकमा उक्लिएको हो ।
नेप्सेमा सूचीकृत सबै उपसमूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक उकालो लागेको छ । सबैभन्दा धेरै व्यापार समूह ६.८ प्रतिशतले बढेको छ । त्यस्तै होटल तथा पर्यटन ४.२१, बैंक ३.८६, अन्य ३.३८, उत्पादनमूलक २.९७ र लगानी समूह २.६८ प्रतिशतले बढेका छन् । बाँकी समूहको वृद्धि २ प्रतिशतभन्दा कम छ ।
आज युनाइटेड मोदी हाइड्रो र समता घरेलु लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै हिमालन बैंक, गणपति लघुवित्त, मन्दाकिनी हाइड्रो, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंकलगायतको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
१८१ कम्पनीका लगानीकर्ताले कमाउँदा ५६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने पाँच कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।
आज पनि उच्च मूल्यको सेयर कारोबार भएको छ । गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार १५ अर्ब ५४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज पनि १५ अर्ब २३ करोडको सेयर किनबेच भएको छ ।
सर्वाधिक कारोबार हुनेमा सोल्टी होटल ३४ करोड १० लाख, हिमालयन रिइन्स्योरेन्स ३० करोड ६७ लाख, कुमारी बैंक २७ करोड ९३ लाखलगायत छन् ।