• Menu

प्राइम, नबिल र कृषि विकास बैंकको कर्जा विस्तार सबैभन्दा धेरै, दुई बैंकको नकारात्मक

नेपाल प्रफिट

२०८१ साउन ६, ०७:३५

प्राइम, नबिल र कृषि विकास बैंकको कर्जा विस्तार सबैभन्दा धेरै, दुई बैंकको नकारात्मक

काठमाडौं । आर्थिक गतिविधि बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जामा निकै कमी आएको छ । समष्टिगत मागमा आएको कमीका कारण उद्योगी व्यवसायीले उत्पादन नै कटौती गरिरहेका कारण कर्जाको मागमा कमी आएको हो ।

बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी कर्जा प्रवाह गर्ने साना तथा मझौला व्यवसाय क्षेत्रबाट पनि दुई वर्षदेखि कर्जाको माग अत्यन्तै सुस्त छ । यसको प्रभाव कर्जा विस्तारमा परेको छ ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तारको लक्ष्य ११.५ प्रतिशत राखेको थियो । तर, कर्जा विस्तार लक्ष्यभन्दा निकै कम अर्थात् ५.९७ प्रतिशतले मात्र भएको छ ।

गत वर्षभरमा कर्जा २ खर्ब ९१ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ७८ अर्ब रुपैयाँबाट ५१ खर्ब ६९ अर्ब रुपैयाँमात्र पुगेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप भने ७ खर्ब २२ अर्ब अर्थात् २२.५ प्रतिशतले बढेको छ ।

एक वर्षमा बैंक वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ७१ अर्बबाट बढेर ६४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

एक वर्षमा वाणिज्य बैंकहरूको मात्रै निक्षेप १३.१५ प्रतिशतले बढेर ५० खर्ब ८६ अर्बबाट ५७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा विस्तार ५.८६ प्रतिशतले बढेर ४३ खर्ब १८ अर्बबाट ४५ खर्ब ७१ अर्ब पुगेको छ ।

कर्जाको माग सुस्त हुँदा बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.६७ प्रतिशतमा झरेको छ ।

वाणिज्य बैंकको कर्जा विस्तार

अधिकांश वाणिज्य बैंकले गत वर्ष कर्जा विस्तार गर्न सकेका छैनन् । तर, प्राइम कमर्सिलय बैंक, नबिल बैंक र कृषि विकास बैंक भने प्रतिकूल अवस्थामा पनि मौद्रिक नीतिको लक्ष्यभन्दा बढी कर्जा विस्तार गर्न सफल भएका छन् ।

मौद्रिक नीतिले ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएकोमा यी तीन बैंकले त्योभन्दा बढी प्रवाह गरेका हुन् । त्यसमा पनि प्राइम बैंकको कर्जा प्रवाह सबैभन्दा उच्च छ । अरु १७ बैंकको कर्जा विस्तार लक्ष्यभन्दा कम छ ।

प्राइम कमर्सियल बैंकले गत वर्षभरमा १८.९ प्रतिशतले कर्जा वृद्धि गरेको छ । २०८० असार मसान्तसम्म १ खर्ब ६३ अर्ब रहेको बैंकको कर्जा २०८१ असार मसान्तमा १ खर्ब ९४ अर्ब पुगेको हो ।

त्यस्तै सोही अवधिमा नबिल बैंकको कर्जा प्रवाह ३ खर्ब ४१ अर्बबाट १३.७४ प्रतिशतले बढेर ३ खर्ब ८८ प्रतिशत पुगेको छ । कृषि विकास बैंकले पनि १३.०५ प्रतिशतले कर्जा विस्तार गरेर १ खर्ब ८३ अर्बबाट बढाएर २ खर्ब ७ अर्ब रुपैयाँ पुर्‍याएको छ ।

नेपाल, एभरेस्ट र सानिमा बैंकको कर्जा विस्तार पनि १० प्रतिशतभन्दा माथि छ । दुईवटा बैंकको कर्जा विस्तार भने नकारात्मक छ । प्रभु बैंकको २.५६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५.६३ प्रतिशतले कर्जा विस्तार घटेको हो ।