काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । तयारी नपुगेको जनाउँदै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक नगरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बिहीबार अर्थ मन्त्रालय र राष्ट्र बैंक दुवैको नेतृत्व गरिसकेका डा. युवराज खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा प्रधानमन्त्रीको कोर टिममा उनको औपचारिक ‘इन्ट्री’ भएको हो ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले अर्थविद् डा. खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरेसँगै मौद्रिक नीति प्रभावित हुने सम्भावना बढेको थियो ।
राष्ट्र बैंक आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा थियो । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको अन्तिम तयारीबारे बिहीबार नै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्रिफिङ गरिसकेका थिए ।
राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल सकिएलगत्तै उनले ‘बजार चलायमान बनाउने मौद्रिक नीति तयार पारेको’ जानकारी अर्थमन्त्रीलाई गराएका थिए । आज शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेका गभर्नरले बिहान ८ बजेका लागि राष्ट्र बैंक सञ्चालक समिति बैठकसमेत बोलाएका थिए ।
तर, प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. खतिवडाको ‘इन्ट्री’सँगै मौद्रिक नीति सार्वजनिक हुने मिति धकेलिएको हो । उनले अध्ययन गरेपछि मात्रै मौद्रिक नीतिले अन्तिम स्वरुप पाउने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।