• Menu

डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त, मौद्रिक नीतिमा पर्न सक्छ प्रभाव !

नेपाल प्रफिट

२०८१ साउन ३, २१:४८

डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त, मौद्रिक नीतिमा पर्न सक्छ प्रभाव !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय र राष्ट्र बैंक दुवैको नेतृत्व गरिसकेका डा. युवराज खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा प्रधानमन्त्रीको कोर टिममा उनको औपचारिक ‘इन्ट्री’ भएको हो ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले अर्थविद् डा. खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरेसँगै मौद्रिक नीति प्रभावित हुने सम्भावना बढेको छ ।

राष्ट्र बैंक भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको अन्तिम तयारीबारे आज बिहीबार नै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्रिफिङ गरिसकेका छन् ।

राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल सकिएलगत्तै उनले ‘बजार चलायमान बनाउने मौद्रिक नीति तयार पारेको’ जानकारी अर्थमन्त्रीलाई गराएका हुन् । भोलि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेका गभर्नरले बिहान ८ बजेका लागि राष्ट्र बैंक सञ्चालक समिति बैठकसमेत बोलाएका छन् ।

तर, प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. खतिवडाको ‘इन्ट्री’सँगै मौद्रिक नीति प्रभावित हुने सम्भावना बढेको छ । उनले अध्ययन गरेपछि मात्रै मौद्रिक नीतिले अन्तिम स्वरुप पाउने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

मौद्रिक नीतिका सम्बन्धमा खतिवडाले विभिन्न सार्वजनिक फोरममा फरक धारणा राख्दै आएकाले पनि सरकारको आर्थिक सल्लाहकारमा नियुक्त भएसँगै त्यसको प्रभाव पर्ने निश्चित जस्तै भएको हो ।

मौद्रिक नीतिमा डा. खतिवडाको प्रभाव परेसँगै सेयर बजार पनि प्रभावित हुने अनुमान गर्न थालिएको छ । सेयर बजारप्रति उनको भिन्न धारणा राख्दै आएका छन् । उनी राष्ट्र बैंकको गभर्नर भएको समयमा पहिलो चार वर्ष बजार बढ्न सकेको थिएन । कार्यकालको अन्तिम वर्षमात्र बजार बढेको थियो ।

डा. खतिवडा यसअघि ओली मन्त्रिपरिषदमै अर्थमन्त्री थिए । उनले २०६६ चैत ९ देखि २०७१ चैत ५ सम्म राष्ट्र बैंकको नेतृत्व गरेका थिए ।