काठमाडौँ । नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको सेनाले जनाएको छ ।
सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी किरण केसीले २०८० असार मसान्तमा कोषको नगद मौज्दात ७१ अर्ब पाँच करोड ६१ लाख रहेकोमा यो वर्ष चार अर्ब ८५ करोड २७ वृद्धि भएको जानकारी दिए ।
कोषअन्तर्गतका विभिन्न निकायमा गत असार मसान्तसमम गरिएको लगानी ६ अर्ब ७९ करोड ८६ लाख (लेखापरीक्षणअगावै)लाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख पुग्ने उनले बताए ।
कोषमा मुख्यगरी संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिइएका सेनाका जटिल परिस्थितिमा कामगरेबापत राष्ट्र संघबाट प्रदान गरिने भत्ता रकमबाट केही अंश कट्ट गरी जम्मा गरिँदै आएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, विद्यालय महाविद्यालयको शिक्षण शुल्क, परिवार आवास भाडाबापतको रकम, आयमूलक परियोजनाबाट प्राप्त रकम, विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराउने टिकटबाट प्राप्त रकम कोषमा जम्मा गरिने सेनाले जनाएको छ ।
सेनाले काल्याणकारी कोषको रकमबाट शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार र सुविधा तथा सहुलियतजस्ता कल्याणकारी कार्य गर्दै आइरहेको छ । कोषबाट आर्थिक वर्ष २०८०/८१ मा ६ लाख ३२ हजारभन्दा बढीले स्वास्थ्य सेवा तथा १८ हजार ७४८ जनाले कृषि तथा व्यावसायिक पशुपन्छी, तरकारीखेती, लघुउद्यमशील तालिम लिई स्वरोजगार र रोजगारी प्राप्त गरेका छन् ।
कोषको जोखिममा रहेको निक्षेप रकमलाई उल्लेख्य मात्रामा घटाइएको सहायक रथी केसीले जानकारी दिए । विगतका वर्षमा जोखिममा रहेको निक्षेप रकम ८५ करोडलाई घटाएर पाँच करोड दुई लाखमा झारिएको उनको भनाइ छ । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका कारणले निक्षेप रहेको बैंक तथा वित्तीय संस्थाबाट असुली हुन नसकेको केसीले स्पष्ट पाए ।
कोष र अन्तर्गतका निकायको फर्छ्यौट गर्न बाँकी बेरुजु आठ करोड चार लाख ३७ हजार रहेकामा गत जेठ मसान्तसम्म तीन करोड २६ लाख ३६ हजार फर्छ्यौट गरी लगत कट्टाका लागि अनुरोध गरिएको निर्देशनालयले जनाएको छ । बाँकी बेरुजु चार करोड ७७ लाख ७४ हजार फर्छ्यौटका क्रममा रहेको निर्देशक केसीले जानकारी दिए ।
नेपालबाट ६ दशकमा डेढ लाख शान्ति सैनिक
शान्ति स्थापना कार्यमा नेपाली सेनाको प्रारम्भदेखि हालसम्म एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले विभिन्न ४४ वटा शान्ति मिसनमा सहभागिता जनाएका सेनाले जनाएको छ । २०१५ जेठ ३० गते लेबनानबाट शान्ति स्थापना कार्य मिसनमा सहभागिता जनाएको थियो ।
हाल ११ वटा शान्ति मिसनमा नेपाली सेनाका पाँच हजार ९१६ शान्ति सैनिक तैनाथ रहेको सेनाले जनाएको छ । हालसम्म दुई हजार ७०७ नेपाली महिला सैनिकले शान्ति स्थापना कार्यमा सहभागिता जनाएका छन् ।
सेनाले हालसम्म एक हजार ४११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिब्रिज जडान गरेको छ । सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीनवटा राष्ट्रिय गौरवका आयोजना तथा दुईवटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ ।
सडकको लम्बाई २७४ किलोमिटर छ । सेनाले खाँदबारी किमाथांका (च्याम्ताङ–घोंघप्पा खण्ड), कर्णाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभन्ज्याङ, दार्चुला–टिंकर सडक निर्माण गरिरहेको छ ।
पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी रवीन्द्र खत्री, शान्ति कार्य निर्देशनालयका निर्देशक सहायक रथी प्रेमबहादुर पुन, काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेल, विकास निर्माण निर्देशनालयका निर्देशक महासेनानी धर्मेन्द्रकुमार झालगायतले आ‑आफ्नो जिम्मेवारी क्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका छन् ।