• Menu

फलोअप

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न तीव्र दौडधुप, शक्तिकेन्द्र धाउँदै प्रतिस्पर्धी

नेपाल प्रफिट

२०८१ साउन ३, ०९:०३

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न तीव्र दौडधुप, शक्तिकेन्द्र धाउँदै प्रतिस्पर्धी

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) बन्न तीव्र चलखेल सुरु भएको छ । आफूभन्दा वरिष्ठ टेलिकमकै प्रतिस्पर्धीलाई पछि पार्दै टेलिकमको एमडी पद हात पार्न केही प्रतिस्पर्धीले शक्तिकेन्द्र धाउने क्रमलाई तीव्रता दिएका हुन् ।

एमडी बन्न सबैभन्दा बढी दौडधुप गरिरहेका व्यक्ति हुन् शालिग्राम पराजुली । एमालेको विज्ञान तथा प्रविधि विभागमा रहेका पराजुलीले एमडी बन्नका लागि केही अघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीहरु भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र गंगा दाहालमार्फत पनि प्रयास गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग निकट सम्बन्ध रहेका पराजुलीले उनीमार्फत पनि टेलिकमको नेतृत्वमा पुग्न अधिकतम प्रयास गरेका थिए । तर, सत्ता परिवर्तनसँगै उनी एमाले नेताहरुको पछि लागेका छन् ।

उनले हिजो बुधबारमात्रै एमाले उपमहासचिव एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर एमडी बनाइदिन आग्रह गरेका छन् । मन्त्री गुरुङलाई भेटेर उनले आफू सबै हिसाबले योग्य भएको भन्दै एमडीका लागि लबिङ गरेका हुन् ।

पराजुलीको शैली एमालेको आईटी विभागका अधिकांश नेतालाई मन परेको छैन । एमालेसम्बन्ध कर्मचारीहरुको संस्था नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (एनटिन) पनि उनको विपक्षमा छ ।

टेलिकमको एमडी नियुक्ति प्रक्रिया जेठ २२ देखि सुरु भएको छ । सरकार र विभागीय मन्त्रालयको नेतृत्व गरेको एमालेले अब आफ्नै अनुकूलतामा गर्ने भएपछि करिब ११ जना प्रतिस्पर्धी ‘रिङआउट’ हुने निश्चित जस्तै छ ।

माओवादीका तर्फबाट प्रयास भइरहेकाहरुसहित टेलिकमबाहिरका प्रतिस्पर्धी चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशीसँगै टेलिकमकै १०औं तहका डा. विमल आचार्यको सम्भावना लगभग टरेको छ ।

प्रबन्ध निर्देशक पदका लागि १५ दिनको समय दिएर सूचना जारी भएकोमा १७ जनाले आवेदन दिएका थिए । नेपाल टेलिकममै कार्यरत इन्जिनियर सुवास साहको योग्यता नपुगेपछि दरखास्त अस्वीकृत भएको छ ।

योग्यता पुगेका १६ प्रतिस्पर्धीमध्ये डा. आचार्य र बाहिरबाट प्रयास गरिरहेका अरु चार जना ‘लगभग रिङआउट’ भएको ती नेताले बताए । बाँकी ११ प्रतिस्पर्धीमध्ये केदारनाथ कोइराला, अनन्तप्रकाश मल्लिक, टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, लक्ष्मण महर्जन, कमल लामिछाने र राजेश जोशी इमाले इतर भएकाले उनीहरुको सम्भावना निकै कम छ ।

सत्ता साझेदार नेपाली कांग्रेसले पनि एमालेको भागमा परेको मन्त्रालय भएकाले हस्तक्षेप नगर्ने दुई दलबीच सहमति भएको छ ।

नेपाल टेलिकमको एमडीका लागि चार जना प्रमुख दाबेदार देखिएका छन् । पराजुलीसहित टेलिकमकै निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल), १०औं तहमा कार्यरत प्रेमप्रसाद सिलवाल र कृष्णप्रसाद भण्डारी मुख्य दाबेदार हुन् ।

संगीताका श्रीमान नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडीको राजनीतिक तहमा राम्रो व्यक्तिगत सम्बन्ध रहेकाले संगीतालाई प्रबन्ध निर्देशकको दाबेदार ठानिएको छ ।

प्रबन्ध निर्देशकका दाबेदार अर्का प्रतिस्पर्धी हुन् कृष्णप्रसाद भण्डारी (केपी) । भण्डारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमको सहकार्यमा खुलेको वालेट नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् ।

एमालेनिकट उनलाई कार्यानुभव र क्षमताका हिसाबले पनि एमडीको प्रबल दाबेदार मानिएको छ । भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेका छन् । उनी सन् १९९९ मा टेलिकम सिस्टम इन्जिनियरका रुपमा नेपाल टेलिकममा इन्ट्री भएका हुन् । भण्डारी सन् २०२२ देखि टेलिकमको प्रबन्धक छन् ।

प्रबन्धकहरुमध्ये सबैभन्दा वरिष्ठ प्रेमप्रसाद सिलवाल ११औं तहमा बढुवा हुनेको पहिलो नम्बरमा छन् । कार्यानुभव र क्षमताका हिसाबले अब्बल उनी एमालेकै आईटी विभागदेखि एनटिनसम्मले रुचाएका प्रतिस्पर्धी हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्व तथा पूर्वसचिव हरि बस्याल र मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सदस्य रहेको प्रबन्ध निर्देशक छनोट सिफारिस समितिले टेलिकमको प्रबन्ध निर्देशक छनोट गरिरहेको छ ।