काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वर्षभित्रै डिजिटल मुद्रा प्रयोगमा ल्याउने गरी तयारी थालेको ५ । चौथो रणनीतिक योजनाअन्तर्गत राष्ट्र बैंकको २०८३ साउनदेखि थोक कारोबारका लागि डिजिटल मुद्राको नमुना परीक्षण गर्ने भएको हो ।
केन्द्रीय बैंकले २०८३ असोजदेखि अन्तरदेशीय कारोबारका लागि डिजिटल मुद्राको प्रयोग थाल्ने र २०८४ साउनदेखि खुद्रा कारोबारमा पनि परीक्षण गर्ने कार्यतालिका बनाएर काम अघि बढाएको जनाएको छ ।
डिजिटल मुद्राको प्रयोग सम्बन्धमा राष्ट्र बैंकले अध्ययन गरिसकेको छ । जसअनुसार अन्य मुलुकको शैली नक्कल गर्नुपर्ने अवस्था नरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । भविष्यमा हुने विकासक्रमअनुसार नै नेपालले डिजिटल मुद्रा प्रयोगमा ल्याउन सक्ने जनाइएको छ ।
दुई वर्षपछि डिजिटल मुद्रा प्रयोगमा ल्याउने तयारीमा रहेको राष्ट्र बैंकले अहिलेदेखि नै विभिन्न नीति निर्माता, सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालगायतसँगको सहकार्यका लागि छलफल अघि बढाउने योजना बनाएको छ ।
हाल दक्षिण एसियाली मुलुकहरू भारत र भुटानमा डिजिटल मुद्राको नमुना परीक्षण भइरहेको छ । पाकिस्तान र श्रीलंकाले खुद्रा कारोबारमा डिजिटल मुद्रा प्रयोगमा ल्याउने सम्बन्धमा अध्ययन गरिरहेका छन् ।
हाल विश्वभरका १३२ देशले कुनै न कुनै कारोबारमा डिजिटल मुद्रा प्रयोगमा ल्याएका छन् । बिटक्वाइन, इथेरियमलगायतका ब्लक चेनमा आधारित क्रिप्टोकरेन्सीको विकल्पमा विश्वभरका केन्द्रीय बैंकहरूले नियमनको दायरामा रहने डिजिटल मुद्राको अभ्यास गरेका हुन् ।