• Menu

लन्डन जान लागेका भारतीय युवा नेता सौरभ दास विमानस्थलबाटै रोकिए

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १२:४२

लन्डन जान लागेका भारतीय युवा नेता सौरभ दास विमानस्थलबाटै रोकिए

एजेन्सी  । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेता सौरभ दासलाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ ।

कक्रोच जनता पार्टी (सिजेपी) का २७ वर्षीय नेता दासले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने उडानमा चढ्न नदिइएको जानकारी दिएका हुन् । मंगलबार बिहान उडान भर्ने तयारीमा रहेका उनलाई विमानस्थलका अध्यागमन अधिकारीहरूले राहदानीमा यात्रा रोकसम्बन्धी संकेत रहेको बताएका थिए ।

दासका अनुसार अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) र एडिनबर्ग विश्वविद्यालयले उनलाई ‘कक्रोच’ आन्दोलनबारे सम्बोधन गर्न आमन्त्रण गरेका थिए । डिसेम्बर १ मा अक्सफोर्ड युनियन सोसाइटीमा उनको सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

भारतीय विद्यार्थीहरूले कार्यक्रमको तयारी गरिरहेको अवस्थामा सरकारले आफूलाई विदेश जान रोक्नु बौद्धिक विचारप्रति असहिष्णुताको संकेत भएको दासको आरोप छ ।

सन् २०२६ मेमा स्थापना भएको सिजेपीले छोटो समयमै सामाजिक सञ्जालमा लाखौँ अनुयायी जुटाएको छ । गत जुलाईमा परीक्षामा भएको अनियमितताको विरोधमा पार्टीले आयोजना गरेको प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब सिर्जना गरेको थियो । उक्त आन्दोलनपछि भारतका शिक्षामन्त्रीले राजीनामा दिएका थिए ।

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै नयाँदिल्लीमा आयोजित प्रदर्शनका क्रममा सुरक्षा कारबाहीको अवज्ञा गरेको आरोपमा दासलाई एक महिनाअघि हिरासतमा लिइएको थियो ।

प्रधानमन्त्री मोदी सन् २०१४ मा सत्तामा आएयता भारतमा मानव अधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको आलोचकहरूले आरोप लगाउँदै आएका छन् । यसै महिनाको सुरुमा विपक्षी काङ्ग्रेस पार्टीले आयोजना गरेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा एक सयभन्दा बढी विदेशी वक्तालाई सहभागी हुन रोकिएको थियो । रोक लगाइएकामध्ये यसअघि प्रधानमन्त्री मोदीसँग प्रेस स्वतन्त्रताबारे प्रश्न गर्ने एक नर्वेली पत्रकारसमेत रहेको बताइएको छ ।

यसअघि सन् २०२२ मा भारत प्रशासित काश्मीरकी पुरस्कार विजेता फोटोग्राफर सन्ना इरशाद मट्टुलाई पुलित्जर पुरस्कार ग्रहण गर्न अमेरिका जानबाट भारतीय अधिकारीहरूले रोकेका थिए ।