काठमाडौं । सरकार परिवर्तनसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्ति प्रक्रियाले फरक मोड लिएको छ । जेठ २२ देखि सुरु भएको एमडी नियुक्ति प्रक्रिया सत्ता परिवर्तनसँगै सरकारको नेतृत्व गरिरहेको तत्कालीन नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेको पोल्टामा आएको हो ।
यससँगै टेलिकम बाहिरबाट एमडी नियुक्त गर्न निकै चलखेल र रस्साकस्सी चलिरहेको चर्चा पनि सेलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री बनेका छन् भने एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन् । खुला प्रतिस्पर्धा भनिए पनि एमडी नियुक्तिमा अब नेकपा एमालेको छायाँ पर्नेछ ।
सरकार र विभागीय मन्त्रालयको नेतृत्व गरेको एमालेले अब आफ्नै अनुकूलतामा टेलिकमको एमडी नियुक्त गर्ने भएकाले ११ जना प्रतिस्पर्धी ‘लगभग रिङआउट’ हुने निश्चित छ ।
टेलिकमबाहिरका प्रतिस्पर्धी चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशीसँगै टेलिकमकै १०औं तहका डा. विमल आचार्यको सम्भावना लगभग टरेको नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागका एक नेताले बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चारमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका महाप्रबन्धक झा र डा. आचार्यमध्ये एक जनालाई एमडी बनाउने गरी नियुक्तिसम्बन्धी निर्देशिका नै संशोधन गरेर दरखास्त आह्वानका लागि सूचना प्रकाशित गरेको आरोप लागेको थियो ।
२०८० असोज १५ मा नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टचारको मुद्दा चलेपछि तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परे । २०८१ वैशाख ७ मा पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्यो । त्यसपछि जेठ २२ मा नयाँ एमडी छान्न सूचना प्रकाशित भएको हो ।
प्रबन्ध निर्देशक पदका लागि १५ दिनको समय दिएर सूचना जारी भएकोमा १७ जनाले आवेदन दिएका थिए । नेपाल टेलिकममै कार्यरत इन्जिनियर सुवास साहको योग्यता नपुगेपछि दरखास्त अस्वीकृत भएको छ ।
योग्यता पुगेका १६ प्रतिस्पर्धीमध्ये डा. आचार्य र बाहिरबाट प्रयास गरिरहेका अरु चार जना ‘लगभग रिङआउट’ भएको ती नेताले बताए । बाँकी ११ प्रतिस्पर्धीमध्ये ‘कोइराला खान्दानसँग राम्रो सम्बन्ध’ भएका केदारनाथ कोइराला दसौं तहबाट हालैमात्र अवकाश पाएका प्रतिस्पर्धी हुन् ।
केही अघिसम्म नेपाल टेलिकमको वीरगन्ज निर्देशनालय प्रमुख रहेका अनन्तप्रकाश मल्लिक पनि कांग्रेस र मधेसवादी दलनिकट मानिन्छन् ।
टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र शालिकराम सुवेदी पनि कांग्रेसनिकट मानिन्छन् । सरकार र मन्त्रालय दुवैको नेतृत्वमा आफूनिकट पार्टीका नेता नरहेका कारण उनीहरु चारै जना सिफारिस भइनेमा विश्वस्त छैनन् ।
त्यस्तै लक्ष्मण महर्जन माधवकुमार नेपाल नतृत्वको नेकपा एकीकृत समाजवादीसँग नजिक छन् भने कमल लामिछाने माओवादी केन्द्रसँग नजिक रहेको एमालेको आईटी विभागका ती नेताले बताए ।
उनका अनुसार राजेश जोशी पनि खासै नखुलेका प्रबन्धक हुन् । ‘उनलाई धेरै विश्वास छैन, एमडीका लागि सिभीमात्र ड्रप गरिराखेका हुन् भन्ने लाग्छ,’ ती नेताले भने ।
प्रबल दाबेदार चार जना
नेपाल टेलिकमको एमडीका लागि चार जना प्रमुख दाबेदार देखिएका छन् । टेलिकमकै निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल), १०औं तहमा कार्यरत प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी र शालिग्राम पराजुली मुख्य दाबेदार हुन् ।
संगीता नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडीकी श्रीमती हुन् । माओवादी केन्द्रसँग नजिक देखिएका विश्वबन्धुको राजनीतिक तहमा राम्रो व्यक्तिगत सम्बन्ध रहेकाले संगीतालाई प्रबन्ध निर्देशकको दाबेदार ठानिएको हो ।
प्रबन्ध निर्देशक बन्न सबैभन्दा बढी दौडधुप गरिरहेका व्यक्ति हुन् शालिग्राम पराजुली । एमालेको आईटी विभागमा रहेका पराजुलीले एमडी बन्नका लागि प्रचण्ड पुत्रीहरु भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र गंगा दाहालमार्फत पनि प्रयास गरेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग निकट सम्बन्ध रहेका पराजुलीले उनीमार्फत पनि टेलिकमको नेतृत्वमा पुग्न अधिकतम प्रयास गरेका थिए । तर, सत्ता परिवर्तनसँगै उनी एमाले नेताहरुको पछि लागेका छन् ।
पराजुलीको शैली एमालेको आईटी विभागका अधिकांश नेतालाई मन परेको छैन । एमालेसम्बन्ध कर्मचारीहरुको संस्था नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (एनटिन) पनि उनको विपक्षमा छ ।
चितवन घर भएका पराजुली ‘ताक परे तिवारी नत्र गोतामे’ शैलीमा देखिएकाले उनीप्रति मोहभंग भएको एनटिनका एक पदाधिकारीले बताए । तर, चलखेल गर्न सिपालु पराजुलीलाई एमडीको दाबेदार मानिएको छ ।
प्रबन्ध निर्देशकका दाबेदार अर्का प्रतिस्पर्धी हुन् कृष्णप्रसाद भण्डारी (केपी) । भण्डारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमको सहकार्यमा खुलेको वालेट नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् ।
एमालेनिकट उनलाई कार्यानुभव र क्षमताका हिसाबले पनि एमडीको प्रबल दाबेदार मानिएको छ । भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेका छन् । उनी सन् १९९९ मा टेलिकम सिस्टम इन्जिनियरका रुपमा नेपाल टेलिकममा इन्ट्री भएका हुन् । भण्डारी सन् २०२२ देखि टेलिकमको प्रबन्धक छन् ।
प्रबन्धकहरुमध्ये सबैभन्दा वरिष्ठ प्रेमप्रसाद सिलवाल ११औं तहमा बढुवा हुनेको पहिलो नम्बरमा छन् । कार्यानुभव र क्षमताका हिसाबले अब्बल उनी एमालेकै आईटी विभागदेखि एनटिनसम्मले रुचाएका प्रतिस्पर्धी हुन् ।
कहाँ पुग्यो प्रक्रिया ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्व तथा पूर्वसचिव हरि बस्याल र मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सदस्य रहेको प्रबन्ध निर्देशक छनोट सिफारिस समितिले टेलिकमको प्रबन्ध निर्देशक छनोट गरिरहेको छ ।
असार १७ मा प्रकाशित सूचनाअनुसार अनन्तप्रकाश मल्लिक, अनिलकुमार झा र कमल लामिछाने २० गते तथा कृष्णप्रसाद भण्डारी, केदारनाथ कोइराला, चिन्तमणि बराल, नगेन्द्रकुमार दास, प्रेमप्रसाद सिलवाल र बुद्धिप्रसाद आचार्य शुक्रबार प्रस्तुतीरण एवं अन्तर्वार्तामा सामेल भएका छन् ।
रमेशप्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, विमल आचार्य, शालिकराम सुवेदी, शालिग्राम पराजुली र संगीता पहाडीले शनिबार अन्तर्वार्ता दिएका छन् ।
छनोट समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता प्रक्रियापछि प्रबन्ध निर्देशक पदका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने अहिलेसम्म रोकिएको छ ।
अन्तर्वार्तापछि टिप्पणी नै नउठेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । असार १७ गते माओवादीसँगको सहयात्रा तोड्दै एमालेले कांग्रेससँग सत्ता समीकरण गरेपछि एमालेकै दबाबमा प्रक्रिया अवरुद्ध भएको हो ।
सत्ता परिवर्तन निश्चित भएपछि नै एमाले संसदीय दलको बैठकले अल्पमतमा परेको माओवादी नेतृत्वको सरकारलाई कुनै दीर्घकालीन निर्णय र नियुक्ति नगर्ने आग्रह गरेको थियो । ‘अब सरकार पनि बनिसक्यो, सञ्चार मन्त्रालयले पनि नयाँ नेतृत्व पाइसक्यो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अब प्रक्रिया अघि बढ्छ ।’
टेलिकम प्रबन्ध निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ । एमडीको पारिश्रमिक मासिक दुई लाख ५० हजार हुन्छ भने घरभाडाबापत मासिक ६० हजार रुपैयाँ पाउँछन् ।
काठमाडौंमा घर भए एक वर्षमा एक महिनाको मासिक पारिश्रमिक बराबर घर मर्मत खर्च, चाडपर्व खर्च, अतिथि सत्कार खर्च, यातायात सुविधा, वार्षिक १० लाख रुपैयाँको दुर्घटना बिमा र ५ लाख रुपैयाँको औषधि उपचार बिमालगायत सेवा सुविधा हुन्छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal