धनुषा । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन मात्र बाँकी रहँदा पनि राजनीतिक दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन।
कुनै पनि दलसँग एकल सरकार गठनका लागि आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ। तर, गठबन्धन निर्माण र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा प्रदेशको राजनीतिक अन्योल कायमै छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गर्दै शुक्रबारसम्म संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न समय दिएका छन् ।
समयसीमा नजिकिँदै जाँदा पनि कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने विषयमा सहमति हुन नसकेको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए ।
उनले विभिन्न दलबीच सरकार गठनका विषयमा छलफल भइरहेको तर नेतृत्वको विषय टुंगोमा नपुगेको जानकारी दिए । ‘विभिन्न दलबीच सरकार गठनका विषयमा छलफल जारी छ। कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा ठोस सहमति भइसकेको छैन। अझै केही समय बाँकी छ, हेरौँ केही सहमति हुन्छ कि !’ उनले भने ।
नयाँ सरकार गठनका लागि आफ्नो पार्टी सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको पनि भट्टराईले बताए ।
मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार गठनबारे ठोस निर्णय गर्न नसक्दा पनि राजनीतिक प्रक्रिया अन्योलमा परेको छ। एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न चाहेको भए पनि उक्त दलले निर्णय गरिसकेको छैन।
यसअघि पटकपटक सरकार परिवर्तन भएको भन्दै जसपा नेपालका नेताहरूले आगामी निर्वाचनको मुखमा सरकारको नेतृत्व लिन अनिच्छा देखाएको बताइएको छ। जसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सरकार गठनबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको जानकारी दिए ।
यसैबीच, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले केही दिनअघि आफ्नो पार्टी मधेस प्रदेश सरकारमा सहभागी नहुने बताएका थिए । जनमत पार्टी सरकारमा सहभागी नहुने अडानमा रहेमा नयाँ सत्ता समीकरण निर्माण थप चुनौतीपूर्ण हुने देखिएको छ।
कुल १०७ सदस्यीय मधेस प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक सांसद रहेका छन्।
प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले नयाँ सरकार गठनका लागि बहुदलीय सहकार्य आवश्यक छ। तर, सत्ता नेतृत्वको विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा मधेस प्रदेशको आगामी राजनीतिक समीकरण र नयाँ सरकारको नेतृत्व अझै अनिश्चित बनेको छ।