• Menu

१४ महिनादेखि स्वास्थ्यकर्मीविहीन खाँदबारी कारागार, क्षमताभन्दा तेब्बर कैदीबन्दी

नेपाल प्रफिट

२०८३ मंसिर ३, बिहीबार १६:०९

१४ महिनादेखि स्वास्थ्यकर्मीविहीन खाँदबारी कारागार, क्षमताभन्दा तेब्बर कैदीबन्दी

संखुवासभा । जिल्ला कारागार संखुवासभामा करिब १४ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचार तथा औषधि व्यवस्थापनमा समस्या भएको छ। क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कारागारमा स्वास्थ्य जाँच गर्ने जनशक्तिसमेत नहुँदा समस्या थपिएको हो।

जिल्ला कारागार खाँदबारीका सूचना अधिकारी जीवराज राईका अनुसार २०८२ साल साउनदेखि कारागार स्वास्थ्यकर्मीविहीन छ। दरबन्दीमा रहेका स्वास्थ्यकर्मी सरुवा भएर अन्यत्र गएपछि रिक्त पद पूर्ति हुन नसकेको उनले बताए ।

स्वास्थ्यकर्मीको माग गर्दै लोकसेवा आयोगमा अनुरोध गरिए पनि हालसम्म दरबन्दीअनुसार जनशक्ति उपलब्ध हुन नसकेको राईको भनाइ छ।

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी बिरामी पर्दा उपचार र औषधि व्यवस्थापनमा कठिनाइ भइरहेको छ। विशेषगरी चिसोका कारण रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने र टाउको दुख्नेजस्ता समस्या देखिन थालेका छन्। कारागारमा १५ जना कैदीबन्दीले नियमित औषधि सेवन गर्दै आएका छन्।

दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था रहेको र यसले कारागार प्रशासनको खर्च बढाउनुका साथै व्यवस्थापनमा समेत असहजता सिर्जना गरेको जनाइएको छ।

क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी

जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी राखिएका छन्। ‘घ’ श्रेणीको उक्त कारागारमा ५५ जनाको क्षमता भए पनि हाल १५३ जना कैदीबन्दी रहेका छन्।

सूचना अधिकारी राईका अनुसार कारागारमा १४५ पुरुष, आठ महिला र एक जना आश्रित बालबालिका छन्।

तीन दशमलव पाँच रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा कैदीबन्दीको संख्या अत्यधिक हुँदा दैनिक जीवनयापनसमेत कठिन बनेको छ। खान, बस्न र शौचालय प्रयोग गर्नसमेत समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ।

कारागारमा पर्याप्त ठाउँ नहुँदा कैदीबन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकाससम्बन्धी गतिविधि सञ्चालन गर्नसमेत कठिनाइ भएको जनाइएको छ।

कारागारको भौतिक संरचना सुधार तथा क्षमता वृद्धि गर्न सम्बन्धित माथिल्ला निकायलाई पटकपटक अनुरोध गरिए पनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ।

स्वास्थ्यकर्मीको अभाव र क्षमताभन्दा अत्यधिक कैदीबन्दीको चापले खाँदबारी कारागारको स्वास्थ्य सेवा तथा दैनिक व्यवस्थापन दुवै प्रभावित बनेका छन्।