• Menu

साउनका लागि १३ बैंकले घटाए ब्याज, व्यक्तिगत मुद्दती निक्षेपमा सबै बैंकको ब्याज ८ प्रतिशतभन्दा तल

नेपाल प्रफिट

२०८१ असार ३१, १२:४४

साउनका लागि १३ बैंकले घटाए ब्याज, व्यक्तिगत मुद्दती निक्षेपमा सबै बैंकको ब्याज ८ प्रतिशतभन्दा तल

काठमाडौं । अधिकांश बैंकले साउनका लागि ब्याज घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटाले साउनका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

दुई बैंकले बढाएका छन् भने पाँच बैंकको ब्याजदर स्थिर छ । असारमा व्यक्तिगत मुद्दतीमा बैंकहरुले दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा ०.१८ प्रतिशत विन्दुले घटेर ६.७३ प्रतिशतमा झरेको छ ।

निक्षेपको ब्याजदर घट्दा आधार दर पनि घट्ने भएकाले कर्जाको ब्याजदर पनि घट्छ ।

असारको तुलनामा साउनमा कृषि विकास बैंक र एभरेस्ट बैंकले मात्र ब्याजदर बढाएका छन् । नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर स्थिर राखेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ७.५३ प्रतिशत ब्याज एनएमबी बैंक र एनआईसी एसिया बैंकले निर्धारण गरेका छन् । त्यस्तै सबैभन्दा थोरै ब्याज राष्ट्रिय वाणिज्य बैंकले ६.२१ प्रतिशत तोकेको छ ।

यससँगै व्यक्तिगत मुद्दती निक्षेपमा सबै बैंकको ब्याज ८ प्रतिशतभन्दा तल आएको छ । यसअघि समान ८.२५ प्रतिशत ब्याज दिइरहेका एनआईसी एसिया र हिमालयन बैंकले क्रमश: ७.५३ र ७.५ प्रतिशतमा झारेका हुन् ।