काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर) को बढ्दो जोखिम न्यूनीकरण तथा रोकथामका लागि सबै क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ का अवसरमा भिडियो सन्देश जारी गर्दै मन्त्री मेहताले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यको मात्र नभई मानव तथा पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरणसँग जोडिएको बहुक्षेत्रीय चुनौती भएको उल्लेख गरिन् ।
उनले प्रतिजैविक औषधिले प्रभावकारी रूपमा काम गर्न छाड्दा सामान्य संक्रमणको उपचारसमेत कठिन हुने र यसले मानव तथा पशु स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताइन् ।
नेपालमा टाइफाइड, क्षयरोग, मलेरिया, श्वासप्रश्वाससम्बन्धी तथा अस्पतालजन्य संक्रमण गराउने सूक्ष्मजीवमा प्रतिजैविक प्रतिरोध बढ्दै जानु चिन्ताजनक रहेको मन्त्री मेहताको भनाइ छ ।
सरकारले प्रतिजैविक प्रतिरोध नियन्त्रण तथा न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा गर्नुका साथै विभिन्न नीति, कार्यक्रम र पहल अघि बढाएको उनले जानकारी दिइन् ।
मन्त्री मेहताले चिकित्सकको सल्लाहबिना आफूखुसी प्रतिजैविक औषधि सेवन नगर्न सबैलाई आग्रह गरेकी छन् । स्वास्थ्यकर्मीले पनि आवश्यकताअनुसार मात्र यस्ता औषधि प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी संक्रमणबाट बच्न खोप लगाउने, व्यक्तिगत सरसफाइ कायम गर्ने र नियमित रूपमा हातको स्वच्छतामा ध्यान दिन उनले आग्रह गरिन् ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
प्रतिजैविक औषधिको प्रभावकारिता जोगाउन यसको उचित प्रयोग र बहुक्षेत्रीय सहकार्य आवश्यक रहेको सन्देश यस वर्षको सचेतना सप्ताहले दिएको छ । रासस