• Menu

अमेरिका र चीनलाई टक्कर दिने युरोपको तयारी, एआई प्रविधिमा आत्मनिर्भर बन्न र जोखिम रोक्न डब्लिनमा जुटे इयुका शीर्ष नेता !

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार १६:५५

अमेरिका र चीनलाई टक्कर दिने युरोपको तयारी, एआई प्रविधिमा आत्मनिर्भर बन्न र जोखिम रोक्न डब्लिनमा जुटे इयुका शीर्ष नेता !

एजेन्सी । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै यसबाट प्राप्त हुने अवसरको उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली संघ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक आयरल्यान्डको डब्लिनमा छलफल गर्दैछन्।

चीन र अमेरिकासँगको प्रविधिगत प्रतिस्पर्धामा अघि बढ्न युरोपमै एआई विकासलाई प्रोत्साहन गर्ने तथा नागरिक र व्यवसायलाई सम्भावित जोखिमबाट जोगाउने विषय बैठकको मुख्य एजेन्डा रहनेछ।

छलफलमा फ्रान्सेली एआई कम्पनी मिस्ट्रलका प्रमुख आर्थर मेन्श र नोबेल पुरस्कार विजेता अनुसन्धानकर्ता जेफ्री हिन्टन सहभागी हुनेछन्।

एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग जोडिएको विवादका कारण एआई क्षेत्रको सुरक्षासम्बन्धी विषयले पनि बैठकमा स्थान पाउन सक्ने इयुका एक अधिकारीले बताएका छन्। एनभिडिया औपचारिक कार्यसूचीमा नरहे पनि नेताहरूले त्यसबारे छलफल गर्न चाहेमा रोक नलगाइने उनको भनाइ छ।

बैठकअघि एस्टोनिया र फिनल्यान्डले गम्भीर एआई घटनाको सामना गर्न इयुस्तरमै प्रभावकारी संयन्त्र आवश्यक रहेको बताएका छन्।

एस्टोनियाका प्रधानमन्त्री क्रिस्टेन मिचालले विगतमा जीवाश्म इन्धन र महत्त्वपूर्ण खनिजका लागि बाह्य मुलुकमाथि निर्भर हुनुपरेको अवस्थाबाट पाठ सिक्दै नयाँ प्रविधिमा लगानी गर्नुपर्ने बताएका छन्।

मिस्ट्रलका प्रमुख मेन्शले युरोपमै उन्नत एआई प्रविधि विकास गर्नुपर्नेमा जोड दिँदै आएका छन्। गुगलका पूर्वअनुसन्धानकर्ता हिन्टनले भने एआईबाट रोजगारी, नागरिक अधिकार र सुरक्षामा पर्न सक्ने प्रभावबारे छलफल गर्नेछन्।

हिन्टन र कम्प्युटर वैज्ञानिक योशुआ बेङ्गियोले च्याटजीपीटी सार्वजनिक भएपछि एआईका सम्भावित जोखिमबारे चेतावनी दिएका थिए।