• Menu

गिनीमा सुन खानी विवादमा झडप हुँदा १० जनाको मृत्यु

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार ११:४०

गिनीमा सुन खानी विवादमा झडप हुँदा १० जनाको मृत्यु

एजेन्सी । अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि उत्तरपूर्वी गिनीमा सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन्।

सरकारी अधिकारीहरूका अनुसार खनिज सम्पदाले धनी सिगुइरी जिल्लामा बुधबार झडप भएको हो। नोभेम्बर २ देखि प्रतिबन्ध लागू गर्न गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको सरकारी विज्ञप्तिमा उल्लेख छ।

घटनाबारे अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ।

सरकारी प्रतिबन्धपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई उक्त क्षेत्रबाट निष्कासन गरेको छ। झडपपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीयवासीले सुरक्षा अवस्थाका कारण त्यस क्षेत्रमा जानसमेत डर लागेको बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा शव देखिएका थिए भने केही पसलमा तोडफोडसमेत भएको थियो। झडपमा घाइते भएका एक स्थानीयका बुबाले सुरक्षा बलको बाक्लो उपस्थितिका कारण उपचारका लागि आवश्यक सहयोग पाउन नसकेको बताएका छन्।

सरकारी कारबाहीपछि ठूलो संख्यामा मानिस छिमेकी मुलुक मालीतर्फ पनि पुगेका छन्। माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको जनाउँदै त्यसबाट उत्पन्न मानवीय संकटप्रति चिन्ता व्यक्त गरेको छ।

अवैध सुन उत्खनन नियन्त्रण गर्ने सरकारी अभियानपछि उत्पन्न तनावले गिनीको सिगुइरी क्षेत्रमा सुरक्षा तथा मानवीय चुनौती थपिएको छ। रासस