• Menu

प्रहरी महानिरीक्षकमा मनोज केसी नियुक्त

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार १४:१४

प्रहरी महानिरीक्षकमा मनोज केसी नियुक्त

काठमाडौं। सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्।

मन्त्रिपरिषद् स्रोतका अनुसार वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

यसअघि पनि सरकारले प्रहरी महानिरीक्षक परिवर्तन गरी तत्कालीन आईजीपीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएका उदाहरण छन्।

तत्कालीन आईजीपी अच्युतकृष्ण खरेललाई सरकारले पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो। तर, दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको भन्दै खरेल सर्वोच्च अदालत पुगेका थिए। अदालतबाट मुद्दा जितेपछि उनी पुनः प्रहरी महानिरीक्षकमा फर्किएका थिए।

त्यसअघि सरकारले ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गरेको थियो। खरेल पुनः पदमा फर्किएपछि प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको थियो।

त्यस्तै, सुडान घोटाला प्रकरणमा मुछिएपछि तत्कालीन आईजीपी रमेशचन्द ठकुरीलाई पनि सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।

नेपाल प्रहरीको नेतृत्व परिवर्तनसँगै पूर्वआईजीपीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने अभ्यास यसअघि पनि देखिँदै आएको छ।